न्याम्सको उपकरण खरिदमा व्यापक अनियमितता तर स्वास्थ्य मन्त्रालयले माैन



काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट उपकरण खरिदमा अनियमितता गरेका पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयले अझै कारबाही गरेको छैन ।

उपकरण खरिदमा अनियमितता गरेको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयको न्यायिक समितिले न्याम्सका तत्कालीन उपकुलपति डा.गणेश गुरुङ, ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्याय र न्याम्सको खरिद एकाइ प्रमुख भगवती थपलियालाई आवश्यक कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो। गत वर्ष साउन ३२ गते कारवाही सिफारिस गरिए पनि हालसम्म कुनै कारबाही भएको छैन।

गत वर्षको असारमा न्याम्सले न्युरो सिटी उपकरण खरिद टेण्डर प्रक्रिया गर्दा आफूलाई अन्याय गरेको भन्दै हिमालयन मेडिटेक सप्लाई फर्मले सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो। 

 

हिमालयनले १५ करोड ९५ लाखमा दिन तयार भएको उपकरण टेण्डर अस्वीकृत गरी न्याम्सले बायोमेड इन्टरनेशनेल सप्लाई फर्मसँग २० करोड ४९ लाख मूल्यमा टेण्डर स्वीकृत गरेको थियो। 

 

सार्वजनिक खरिद ऐनअनुसार जुन फर्मले सस्तो मूल्यमा सामान दिन्छ उसैसँग सम्झौता गर्नुपर्छ। न्युरो सिटी एउटै कम्पनी ब्रेन ल्याबबाट उत्पादित भएपनि न्याम्सले महँगो उपकरण खरिद गरेको थियो। यसअनुसार हिमालयनले पाउनुपर्ने टेण्डर बायोमेडलाई दिएपछि यो विषय विवादमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्