श्रीलङ्काद्वारा तीन देशका यात्रुमाथि प्रतिबन्ध, इरानमा थप ८५ को मृत्यु



एजेन्सी : श्रीलङ्काको नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि तीन देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणका अनुसार दक्षिण कोरिया, इरान र इटालीबाट आउने यात्रुलाई श्रीलङ्का आउन प्रतिबन्ध लगाइएको हो ।

कोरोना भाइरसको सङ्क्रम बढ्दै जान थालेपछि अनिश्चितकालका लागि ती देशका यात्रुलाई प्रतिबन्ध लगाएको अधिकारीको भनाइ छ ।

प्राधिकरणको आग्रहअनुसार सूचना विभागले सबै विमान कम्पनीहरुलाई ती देशबाट श्रीलङ्कामा यात्रु नल्याउन आग्रहसहित सूचित गरेको छ ।

हालै ती देशको भ्रमण गरेका यात्रुहरुलाई पनि नल्याउनसमेत श्रीलङ्काले आग्रह गरेको छ ।

यो प्रतिबन्ध शुरुमा झण्डै दुई हप्ता लागू हुने अधिकारीहरुले शुक्रबार बताएका छन् ।

श्रीलङ्कामा शुक्रबारसम्म दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने स्वास्थ्य मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पर्याप्त तयारी गरिएको जनाएको छ ।

यसैबीच इरानमा कोरोना भाइरसका कारण थप ८५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार योसँगै इरानमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको छ ।

उनीहरुले एकै ठाउँमा एकै दिन यति धेरै बिरामीको मृत्यु भएको पनि पहिलो पटक भएको जनाएका छन् ।

इरानमा पछिल्लो एकै दिनमा एक हजार २८९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ । –रासस

प्रतिक्रिया दिनुहोस्