उत्पादन क्षेत्रमा लगानी : मुख्यमन्त्री पौडेल



चरिकोट: प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माणको लागि उत्पादन तथा परिणाममुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । दोलखाको भीमेश्वर नगरपालिको २३औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले हरेक तहबाट गैरउत्पादनमूलक क्षेत्रमा मात्र लगानी गरिरहेको र त्यस्ता लगानीले समृद्ध मुलुक निर्माण हुन नसक्ने बताए ।

प्रदेश सरकार गठनको १० महिना बितिसक्दा पनि काम गर्न नसकेको आरोप लगाइए पनि ४० प्रतिशत कर्मचारीको भरमा प्रदेश सरकारले अधिकतम काम गरेको उनले दाबी गरे ।

भीमेश्वर नगरपालिका–९ डाङ्डुगे डाँडामा निर्माण हुन लागेको नेपालकै पहिलो चलचित्र नगरी पछिल्लो समय केही कारण काम रोकिएता पनि सोही ठाउँमा निर्माण हुने मुख्यमन्त्री पौडेलले बताए । सांसद पार्वत गुरुङले आफूहरु पर्यटकीय विकाससँगै दोलखालाई प्राङ्गारिक जिल्ला बनाउन लागेको बताए ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाको प्रचारप्रसारमा सहयोग गरेको भन्दै पत्रकार चिरञ्जीवी मास्के, रवीन्द्र गौतम, जीवन लामा, बाबुराम शर्मा, लक्ष्मण खड्कालाई नगद पाँच हजार रुपैयासहित सम्मान गरिएको थियो । सोही अवसरमा दोलखा जिल्लाका जनप्रतिनिधि र कर्मचारीबीच भएको फुटबल प्रतियोगितामा कर्मचारी टोलीले जनप्रतिनिधिको टोलीलाई दुई गोल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्