अपहृत बालिकाको सात घन्टापछि उद्धार



काठमाडौं: काठमाडौंको कोटेश्वरबाट अपहृत दुई वर्षीय बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ। सामान्य लेनदेन विवादमा थापाथलीस्थित प्रसूतिगृहकी डाक्टर बबिता साहकी दुई वर्षीया छोरी शुक्रबार बिहान अपहरणमा परेकी थिइन्। अपहरणपछि लत्तगै महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले खोजतलास थालेको थियो। आफन्तसँग फिरौती मागेको थाहा पाएपछि सोहीमुताबिक पैसा दिएर भए पनि परिसरको टोली बालिकाको सकुशल उद्धार गर्न सफल भएको हो।

अपहरणकारी मनीष गुप्ताले डाक्टर परिवारसँग लेनदेन गरेको र सो परिवारले केही पैसासमेत दिनु रहेको अवस्थामा छोरीलाई अपहरण गरेको थियो। अपहरणपछि सो परिवारले उनकी श्रीमतीलाई जनपुरमा आइएमईमार्फत एक लाख ५० हजार रुपैयाँ पठाइदिएको थियो। सो रकम गुप्ताकी पत्नीले बुझेपछि बालिकालाई गौशालास्थित एक होटलमा छाडेर गुप्ता फरार भएका थिए। त्यही होटलबाट परिसरको टोलीले बालिकालाई उद्धार गरेको हो।

परिसर प्रमुख एसएसपी वसन्त लामाले बालिकालाई सकुशल उद्धार गरी स्वास्थ्य जाँच गराएर आफन्तको जिम्मा लगाएको बताए। ‘बालिकाको सकुशल उद्धार गरी स्वास्थ्य जाँचपछि आफन्तको जिम्मा लगाएका छौं। उनीहरूबीच लेनदेन भएको पनि बुझिएको छ,’ उनले भने, ‘यसबारे अनुसन्धान हुँदै छ। अपरहणकारी फरार भए पनि पहिचान भइसकेकाले उनी छिटै पक्राउ पर्छन्।’

उनका अनुसार शुक्रबार बिहान कोटेश्वरको खरिबोटस्थित साहकै घरबाट बालिका अपहरणमा परेकी थिइन्। गुप्ताले घरमा कोही नभएको मौका छोपी दुई वर्षीया सदिज्ञा साहलाई अपहरण गरेका हुन्। ‘अपहरणकारीले बालिका नियन्त्रणमा लिएपछि फिरौती माग गरेको रहेछ। त्यसपछि केही रकम परिवारका सदस्यहरूले बुझाएको जस्तो लागेको छ,’ एसएसपी लामाले भने, ‘उनीहरूबीच केही लेनदेनसम्बन्धी विवाद पनि रहेछ।’

बालिकाको उद्धार गर्ने क्रममा प्रहरीले काठमाडौका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरेको थियो। प्रहरीका अनुसार बिहान साढे ८ बजे बालिकाको अपहरण गरेपछि अपहरणकारीले २ लाख ५० हजार रुपैयाँ फिरौती मागेका थिए। फिरौती रकम मागेसँगै प्रहरीमा पुगेको साह परिवारले प्रहरीको सल्लाहअनुसार नै रकम जनकपुर पठाइदिएको थियो। जनकपुरमा सो रकम अपहरणकारी गुप्ताकी पत्नीले लिएपछि बालिकालाई छाडिएको थियो। जनकपुरवासी रहेका अपहरणकारी गुप्ता शुक्रबार बिहान मात्र जनकपुरबाट काठमाडौ आइपुगेको प्रहरी स्रोतले जनाएको नागरिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्