पप्पुका मालिकको सांसद पद निलम्बन नगर्न फोरमको माग



सप्तरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका सांसद हरिनारायण रौनियारको संघीय समाजवादी फोरम नेपालले बचाऊ गरेको छ । सांसद रौनियार पप्पु कन्स्ट्रक्सनका मालिकसमेत हुन् ।

 

फोरमका प्रदेश २ का मुख्यसचिव शम्भु यादवले प्रेस विज्ञप्ति जारी गर्दै सांसद रौनियारलाई पूर्वाग्रहीरुपमा मुद्दा चलाइएको बताएका छन् । विज्ञप्तिमा रौनियारमाथिको सम्पूर्ण कारबाही फुकुवा गर्न माग गरिएको छ ।

 

कन्स्ट्रक्सनको सञ्चालक सांसद व्यक्ति नहुँदा नहुँदै रौनियारलाई आयोगले विगोको १९ करोड ३२ लाख २५ हजार ६९५ रुपियाँ विगो माग गरिएको छ  भने कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पनि उत्तिकै विगो माग गरेको फोरम नेपालको दावी छ । 

 

अख्तियारले पूर्वाग्रही भएर मधेशका नेताविरुद्ध मुद्दा चलाएको पार्टीले आरोप लगाएको छ । कतिपय ठेक्केदार कम्पनीहरु काम नगरेर रकम दुरुपयोग गरेको प्रमाणहरु हुँदाहुँदै पनि अख्तियारले उनीहरुबिरुद्ध कारवाही नगरेर मधेशका नेताहरुलाई लक्षित गरी चरित्र हत्या गरेको आरोप लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्