कोरोनाभाइरससँग मिल्ने फिल्म ‘कोरोना प्यार है’ बन्ने



एजेन्सी : विश्वव्यापी रुपमा महामारीको रुपमा विकसित भएको कोरोना भाइरससँग मिल्ने फिल्म निर्माण हुने भएको छ । कोरोना भाइरसको प्रभावले आक्रान्त बनेको विश्वको अवस्थालाई आधार मानेर भारतमा फिल्म निर्माण हुने भएको हो ।

भारतमा एक सय जना कोरोना भाइरस संक्रमित भइसकेका छन् ।

टाइम्स अफ इण्डियाको एक रिपोर्ट अनुसार, विभिन्न चर्चित फिल्म निर्माण गरिसकेको ‘इरोज इन्टरनेसनल’ नामक प्रोडक्सन कम्पनीले ‘कोरोना प्यार है’ नामको फिल्म रजिष्टर गराइसकेको छ । इरोज इन्टरनेसनले यसअघि बाजीराव मस्‍तानी, तनु वेड्स मनु रिटर्न्‍स, बदलापुर लगायतका फिल्म निर्माण गरिसकेको छ ।

भारतीय सञ्चार माध्यमहरुले ‘कोरोना प्यार है’ लाई कोरोना भाइरससँग सम्बन्धित र दर्ता भएको पहिलो फिल्म मानेका छन् । यद्यपी, यसको कथा कस्तो हुन्छ, त्यो भने सार्वजनिक भएको छैन ।

समाचारमा उल्लेख गरिए अनुसार, यो फिल्मको कथाको मुख्य विषयवस्तु भने ‘लभ स्टोरी’ नै हुनेछ ।

विश्व्यापी संक्रमणको रुप लिएको कोरोना भाइरसका कारण भारत लगायत विश्वका कैयौँ फिल्महल बन्द भएका छन् । यही कारण रिलिज भइसकेका फिल्महरु समेत प्रदर्शनमा आउन सकेका छैनन् । निर्माणधिन फिल्मका सुटिङहरु समेत स्थगित गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्