महोत्तरीमा पखालाबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने



बर्दिवास : प्रदेश नं. २ सरकारले पखालाबाट मृत्यु भएका महोत्तरीका दुई जना परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गर्ने भएको छ । 

 

असोज २ गते शुरु भएर दुई साताभन्दा बढी पखालाको प्रकोप चलेको जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्हीका मुस्लिम बस्तीका दुई जना मृतकका परिवारलाई प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले रु एक÷एक लाख राहत उपलब्ध गराइने घोषणा गरेका हुन् । 

 

सो बस्तीमा एक धार्मिक कार्यक्रमका लागि आज पुगेका उनले दुवै मृतकका परिवारलाई भेटेर राहत दिइने बताए । पखालाको प्रकोपबाट चार वर्षीया बालिका खुश्वु खातुन र ४० वर्षीया वृद्धा अइसा खातुनको मृत्यु भएको थियो । 

 

दूषित पानीकै कारण पूरै बस्तीमा पखालाको प्रकोप फैलिएकाले अब स्वच्छ खानेपानीको प्रबन्ध गरिनुपर्नेमा जोड दिदैं उनले स्वच्छ खानेपानीको प्रबन्धका लागि तुरुन्त व्यवस्था गर्न जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई निर्देशन दिए । 

 

‘आफूले सक्ने काम नगरपालिकाबाटै र नसक्ने प्रदेश सरकारसँग माग गर्नुहोस्, प्रदेश सरकार तत्काल स्वच्छ खानेपानीको व्यवस्थामा जुट्नेछ’, मुख्यमन्त्री राउतले भने । 

 

पहिले खेतमा मारिएका भुरा माछा खाएर प्रकोप फैलिएको भनिए पनि पछि सो बस्तीमा खान प्रयोग गरिने चापाकलको पानीको नमूना राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गरिँदा ‘इकोलाई र क्लोरीफर्म’ नामक दिसाका किटाणु फेला परेपछि प्रकोपका कारण खानेपानी रहेको पुष्टि भएको थियो । जम्मा ३०० घरधुरी रहेका सो बस्तीका २५० भन्दाबढी पखालाले प्रभावित भएका थिए । 

 

बस्तीमा खान प्रयोग गरिँदै आइएको पानी १०० फिट गहिराइको मात्र भएकाले दूषित भएको स्वास्थ्य विज्ञले बताएका छन् । त्यसैले अब बस्तीमा २०० फिटभन्दा गहिरोको पानी प्रयोग गरिन चापाकल जडान गरिने जलेश्वर नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्