१७ लाख घुसले मालपोतमा तरंग ! अधिकृतहरु बिदामा, सेवाग्राही प्रभावित



भैरहवा : ‘लहरो तान्दा पहरो घर्किन्छ’ भन्ने नेपाली उखान मालपोत कार्यालयमा प्रस्टै देखिएको छ । यहि फागुन ३० गते शुक्रबार १७ लाख घुससहित मालपोत र नापीका कर्मचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि मालपोत कार्यालयमा काम ठप्प भएको छ ।

सधैं भीड भई काममा अत्यधिक चाप हुने मालपोत कार्यालयका १ जना कर्मचारीलाई अख्तियारले समातेर लैजाँदा मालपोत कार्यालय नै प्रभावित हुन पुगेको छ । कार्यालय प्रमुख र अधिकृतहरुलाई समेत उक्त काण्डले प्रत्यक्ष असर पारेको छ ।

मालपोत कार्यालयका नासु धर्मराज पन्थीलाई अख्तियार पक्राउ गरि लिएर गएका कारण आइतबार कार्यालयमा आई निमित्त मालपोत अधिकृत भुमेश्वर ढकालले यो कार्यालयमा काम गर्न सक्दिन सरुवा गराउँछु नभए राजीनामा दिन्छु भनि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराई गएको लेखा अधिकृत लूजं लाल शाक्यले बताए ।

मालपोत अधिकृत इश्वरी अर्याल समेत आफ्नी छोरीलाई सञ्चो नभएका कारण बिदा लिन्छु भनेर बिदा लिएको शाक्यले बताए । काम सुचारु नभएका कारण आधिकारीक सूचना निकाल्न नसकिएको उनले जानकारी दिए ।

यस सन्दर्भमा विभागले कुनै पनि प्रतिक्रिया दिएको छैन ।

एक जना कर्मचारीलाई अख्तीयारले पक्राउ गरि लिएर गएपछि दुई जना अधिकृतको समेत संलग्नता रहेको आशंकामा मालपोत कार्यालयमा काम ठप्प भएको बुझिएको छ ।

काम रोकिँदा सेवाग्राहीहरुले आक्रोश ब्यक्त गरेका छन् । सेवाग्राही योगेन्द्र चौधरीले अख्तियारले मालपोतका कर्मचारीलाई समातेर लैजाँदा मालपोतका कर्मचारी काम गर्न असमर्थ भएका र काम ठप्प पारेको आफूले बुझेको बताए ।

एकजना सेवा ग्राहीले ३ महिना देखी मालपोत कार्यालयमा धाएको तर काम नभएको गुनासो गरे । मेरो सुरुवा भइसक्यो भनेर काम नै गर्दैनन् । हाम्रो के गल्ती छ र तलब खाएपछि उनीहरुले काम गर्नु पर्दैन ? भनेर उनले दुखेसो ब्यक्त गरे ।

नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसमेत ६ जना १७ लाख रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयागले शुक्रबार नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रबक्ता सुरेश भुषालले बताए ।

सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक–पटक घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले १७ लाख नगद रकम सहित ६ जनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवाका लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याललाई नियन्त्रणमा लिइएको प्रबक्ता भुषालले बताए ।

फागुन ३० गते सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ बसपार्क स्थित अशोका होटलको अगाडीबाट एक आपसमा मिलिजुली बांडीचुंडी खाने मनसायले सेवाग्राहीसंगबाट १७ लाख घूस लिईसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिई पक्राउ गरि अनुसन्धान भइरहेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्