के बरामद भएका १० लाख मास्क औषधि पसलबाट बेच्न सकिन्छ ?



काठमाडौं : विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणको उच्च जोखिममा रहेको समयमा नेपालमा सर्जिकल मास्क, सेनिटाइजर जस्ता कोरोनाको संक्रमणबाट बचाउने सामानहरुको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी हुन सुरु भइसकेको छ ।

सामान्यतयाः ४/५ रुपैयाँमा पाइने मास्कलाई पछिल्लो समय बजारमा ६० रुपैयाँसम्म लिने गरेको पाइएको छ । कोरोनाको संक्रमणको डरले बजारमा मास्कको माग बढेको र चिनबाट आयात नभएकाले मास्कको कालोबजारी सुरु भएको हो ।

आकाशिदो मास्कको मूल्य र बजारमा पाउन मुश्किल हुन थालेपछि प्रहरीले सर्च अपरेसन सुरु गरेको छ । अपरेसपछि प्रहरीले कपन, सतुगंल र चन्द्रागिरी लगायतका स्थानबाट शनिबारदेखि मास्क बरामद गर्न सुरु गरेको थियो । हालसम्म प्रहरीले झण्डै १० लाख मास्क बरामद गरिसकेको छ ।

प्रहरीले सोमबार राजधानीको सतुगंलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित प्रहरीले दुई व्यापारीलाई पक्राउ गरेको छ ।

आइतबार साँझ काठमाडौँको कपनमा १ लाख ६८ हजार थान मास्कसहित अजिम बक मियाँ र सज्जनकुमार रेग्मी पक्राउ परेका थिए ।

शनिबार डल्लुबाट प्रहरीले १ लाख ६८ हजार थान मास्कसहित ८ जनालाई पक्राउ गरेको छ । यो समूहबाट अहिलेसम्म १० लाख ८ हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ ।

कालोबजारी गरेको अभियोगमा बरामद भएका मास्कहरु सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको छ ।

किनकी यसमा पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइनेछ र मुद्दाको टुंगो नगिसकेपछि मा जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख छ ।

तर महान्यायाधिवक्ता अग्नि खरेलले यसलाई सच्याउन पहल थालेका छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र सम्वद्ध अधिकारीहरुलाई छलफलमा बोलाएका उनले बरामद भएका मास्क तत्काल बजारमा पठाउन उपायको खोजीबारे परामर्श थालेका हुन् ।

स्रोतकाअनुसार उनले कालोबजारी गरेको अभियोगमा अहिलेकै प्रक्रिया अनुसार मुद्दा चलाउने तर बरामद भएको वस्तु तत्काल बजारमा पठाउन लिखित निर्देशन नै दिने तयारी गरेका छन् । बरामद भएका मास्कहरु साझा औषधि पसलबाट बिक्री गर्ने तयारी छ ।

तर, बरामद मास्क तत्काल बजारमा पठाइँदैन बरु प्रहरीले सिलबन्दी गरेर थन्क्याउने प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले बरामद गरेको मास्क गोदाममा शिलबन्दी गरेर थन्क्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्