कोरोनाको प्रभाव छैन सम्पदा पुनर्निर्माणमा !



काठमाडौं : भूकम्प गएको ५ वर्ष पुग्न मात्र एक महिना बाँकी छ तर पुरातात्विक सम्पदाको पुनर्निर्माण भने कछुवाको गतिमा भइरहेको छ । जुन गतिमा पुनर्निर्माण हुन पर्ने हो त्यो गतिमा नभएकाले चौतर्फि आलोचना भइरहेको छ । अहिलेसम्म क्षेतीग्रस्त सम्पदामध्ये जम्मा ६० प्रतिशत मात्र सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ ।

२०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पबाट ३१ जिल्लाका ९ सय २० सम्पदाहरु ध्वस्त भएका थिए । त्यसमध्ये अझै ५ सय २० वटा सम्पदाहरु पुनर्निर्माणको पर्खाइमा रहेका छन् ।

ऐतिहासिक पुरातात्विक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाको यतिका वर्षसम्म पुनर्निर्मान नहुनु दुःखत भएको सर्वसाधारण अमुता अर्याल बताउछन् । उनी भन्छिन्–‘सम्पदा पुनर्निर्माण एकदमै सुस्त गतिमा भइरहेको छ । भूकम्प गएको यतिका वर्षसम्म पनि सम्पदा पुनर्निर्माण नहुनु एकदमै दुःखत कुरा हो । सरकारले त झन सम्पदाहरुलाई छिटोभन्दा छिटो पुनर्निर्माण गर्नुपर्छ । सरकारले त झन भ्रमण वर्षको घोषण पनि गर्यो । तर, अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण स्थगित भइसकेको छ । त्यसोत सम्पदाको निर्माण नै नगरि भ्रमण वर्षको घोषणा गरियो । विदेशी पाहुनाहरुले हेर्न भनेकै सम्पदा नै हो तर सम्पदा नै पुनर्निर्माण भइसकेका छैनन् ।’

नेपाल यस्तो देश हो जहाँ सम्पदा नै आकर्षणको केन्द्रबिन्दु हो । विशेष गरेर विदेशी पाहुना आउने भनेकै आकर्षक तरिकाले कुदेर भनाइएका सम्पदाको अवलोकन गर्न हो । अझ उपत्यकालाई त सम्पदाको सहरको रुपमा चिनिँदै आइएको छ । यसरी पर्यटकको आधा हिस्सा ओगट्ने सम्पदाहरु लथालिङ्ग रहेका छन् । ऐतिहासिक र पुरातात्कि सम्पदाको अवस्था टेकोको भरमा नै छ ।

कति सम्पदाको पुनर्निर्माण सम्पन्न ?
भूकम्पले क्षति बनाएका सम्पदाहरूको पुननिर्माणको काम ६० प्रतिशत सकिएको पुरातत्वको विभागले जनाएको छ । २०७२ साल वैशाख १२ मा गएको विनाशकारी भूकम्पले राजधानी उपत्यकासहित ३१ जिल्लामा रहेका ९ सय २० वटा सम्पदामा क्षति पुर्याएको थियो । त्यसमध्ये ४ सय वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको तथा १ सय ५० वटाको यही आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न हुने जनाइएको छ । बाँकीको आउँदो २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने विभागले जनाएको छ ।

जसमध्ये पशुपति क्षेत्र विकास कोषले ६२ वटा, भारतीय अनुदानमा २८ वटा, एसियाली विकास बैंकले २० वटा, चीन सरकारले २ वटा, जापान सरकारले २ वटा, श्रीलंकन सरकारले २ वटा, यूनेस्कोले २ वटा र केभीपीटीले १५ वटा सम्पदा पुनर्निर्माण गरेको छ ।

सरकारले पुनर्निर्माण गर्ने ७ सय ३७ वटा सम्पदाका लागि ९ अर्ब १८ करोड ८७ लाख रुपैयाँमध्ये ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँ खर्च हुन बाँकी रहेको जनाइएको छ ।

काठमाडौं उपत्यकाभित्रका १ सय २३ वटा सम्पदाको पुनर्निर्माण गर्न बाँकी रहेको छ । काठमाडौंमा ६०, भक्तपुरमा २० र ललितपुरमा ४३ सम्पदाको पुनर्निर्माण गर्न बाँकी रहेको पुरातत्व विभागले जनाएको छ ।

भूकम्पले क्षति पुर्याएका ऐतिहासिक पुरातात्विक तथा सांस्कृतिक महत्वका ७ सय ३७ सम्पदाहरुको पुनर्निर्माणको काम पुरातत्व विभागले गरिरहेको छ भने १ सय ८३ वटा सम्पदाको पुनर्निर्माण विभिन्न संघसंस्थाहरुले गरिरहेको छ ।

सम्पदा पुनर्निर्माणका लागि सरकारलाई चीन, भारत, अमेरिका, स्विट्जरल्यान्ड, श्रीलंका, जापानलगायत देशले पनि सघाएको छ । काठमाडौंस्थित युनेस्को कार्यालय तथा अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेसन तथा युनिभर्सिटी अफ एप्लाइड आर्टस्ले पनि सहयोग गरेको छ ।

यी कारणले सम्पदा पुनर्निर्माण सुस्त
भूकम्पले देशभर क्षति पुर्याएका सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण सुस्त हुनुका कारण बजेट अभाव रहेको पुरातत्व विभागले जनाएको छ । पुनर्निर्माण भइरहेको भएपनि काम कछुवाको गतिमा भइरहेको छ । पर्याप्त बजेट नहुनु तथा सम्पदाहरुलाई पुरानै शैलिमा निर्माण गर्नुपर्ने नीतिका कारण सम्पदा पुनर्निर्माणको गति सुस्त भएको हो ।

भूकम्पको पाँच वर्ष पुग्न लाग्दा कैयौँं सम्पदाको पुनर्निर्माण योजनासमेत बन्न सकेको छैन । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार सम्पदा पुनर्निर्माण सुस्त गतिमा भइरहेको स्वीकार गर्छन् ।

‘पुरातत्व विभागले लिएको लक्ष्यअनुसार पुनर्निर्माणका काम नभएको म स्वीकार गर्छु । हामीले काम रोकेका छैनौं, काम भइरहेको छ’, महानिर्देशक गौतम भन्छन्–‘पहिलो वर्ष डिजाइन बनाउँदैमा गयो भने दोस्रो वर्ष दाताको छनोट, प्राविधिक र आर्थिक सहयोग जुटाउँदै बित्यो । त्यसपछि भने काम निरन्तर भइरहेको छ ।’

उनका अनुसार यी पुरातात्विक र सांस्कृतिक महत्वका सम्पदालाई पुरानै स्वरूपमा बनाउनुपर्ने भएकाले पनि पुनर्निर्माणमा केही ढिलाइ भएको हो । ‘अब प्राचीन सम्पदाका झ्याल, ढोकामा पुरानै स्वरूपका कलाकृति अंकित गर्नुपर्छ । हामीसँग दक्ष जनशक्ति अभाव छ’, उनले भने–‘कालीगढकै अभाव छ, ठुल्ठूला काठ चाहिन्छ । त्यसको अभाव, खरिद प्रक्रिया लामो र झन्झटिलो छ । यी कारणले गर्दा पुनर्निर्माणमा ढिलाइ भएको हो । विगत वर्षहरूदेखि नै सम्पदा पुनर्निर्माणमा स्रोत सुनिश्चितताको समस्या थियो, यस वर्ष पनि उही समस्या छ, काम थाल्ने भनिएका योजनामा समेत अहिलेसम्म बजेटको टुंगो छैन ।’

उनी भन्छन्–‘सबै क्षेत्रलाई उत्तिकै प्राथमिकतामा राखेर पुनर्निर्माण गरिरहेका छौं । सम्पदाको मौलिकता जोगाउनुपर्छ, जुन पायो त्यहि निर्माण सामाग्री प्रयोग गर्न मिल्दैन । यो कुरा सबैले बुझ्नुपर्छ ।’

६० प्रतिशत सम्पन्न गर्न २ अर्ब ३९ करोड खर्च
विभागका महानिर्देशक गौतमका अनुसार ४ सय सम्पदा पुनर्निर्माणका लागि २ अर्ब ३९ करोड ८१ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा सम्पदा पुनर्निर्माणका लागि नेपाल सरकारको तर्फबाट ९६ करोड ७९ लाख रुपैयाँ बजेट छुट्याइएको छ । बाँकी ४० प्रतिशत सम्पदा पुनर्निर्माणका लागि ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँ आवश्यक पर्ने उनले जानकारी दिए । प्राधिकरणले सम्पदा पुनर्निर्माणमा अहिलेसम्म दुई अर्ब ५४ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको छ ।

कोरोनाको प्रभाव परेको छैन सम्पदा पुनर्निर्माणमा !
छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट ३१ डिसेम्बरबाट फैलिएको कोरोनाभाइरसको प्रभाव नेपालको विकास–निर्माणमा परिरहेको छ । हालसम्म प्रदेश २ र सुदूरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी र निजी लगानीका ठूला तथा साना विकास निर्माण आयोजनाका काममा कोरोनाको प्रत्यक्ष प्रभाव परिसकेको छ  । चीनबाट आयात हुने उपकरण कोरोनाका कारण रोकिएको र नयाँ वर्ष मनाउन स्वदेश गएका चिनियाँ ठेकेदार, इन्जिनियर र कामदार उतै अड्किएकाले आयोजनाहरू प्रभावित भएका हुन् । तर, ठूला–ठूला आयोजनाहरु प्रभावित भएपनि सम्पदा पुनर्निर्माणमा भने प्रभाव नपरेको पुरातत्व विभागले जनाएको छ ।

सम्पदा पुनर्निर्माणमा चीन सरकारले काठमाडौंको हनुमान ढोकाको नौतले र नुवाकोटको केहि सम्पदामा भाग लिएका छन् । यस सम्पदा पुनर्निर्माणमा खासै प्रभाव नपरेको विभागका महानिर्देशक गौतमले बताए । तर, चीन सरकारले पुनर्निर्माण गर्ने भनिएको नुवाकोटको साततले दरबार र वरिपरिका सम्पदा पुनर्निर्माण अन्य केही सम्पदाम भने कोरोनाको प्रभाव परेको बताइएको छ । फागुन पहिलो साताबाट पुनर्निर्माण शुरु गर्ने भनिए पनि चिनियाँ पक्षका प्राविधिक र कामदार आउन नसक्दा काम अघि बढ्न सकेको छैन । कोरोनाभाइरस नियन्त्रणमा आएपछि मात्र आउने कुरा चिनियाँ पक्षबाट आएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले बताए  । तर, सम्पन्न गर्ने मिति धेरै पर भएकाले खासै प्रभाव नपर्ने उनले बताए ।

५७ सम्पदाहरु पुनर्निर्माणको पखाईमा
विश्वसम्पदा सूचीमा सूचिकृत काठमाडौं उपत्यकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रमध्ये भूकम्पले ७ वटै विश्वसम्पदा क्षेत्रमा रहेका सम्पदाहरुमा क्षतिपुर्याएको थियो । हनुमानढोका दरवार परिसरमा ३२, पाटन दरबार क्षेत्रमा ३०, भक्तपुर दरवार परिसरमा २६, चाँगुनारायण क्षेत्रमा १०, पशुपति क्षेत्रमा ६१, स्वयम्भूनाथ क्षेत्रमा १८ र बौद्धनाथमा १ गरी १ सय ७८ वटा सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म ९२ वटा मात्र सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको छ । २९ वटा सम्पदा पुनर्निर्माणको चरणमै रहेका छन् भने ५७ वटा सम्पदाहरु पुनर्निर्माणको पर्खाइमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्