राजनीति छाडेर बाख्रापालन रोजेपछि मालामाल



म्याग्दी : कतिपय मानिसहरु राजनीतिमा लागेपछि पद पाउन मरिहत्ते गर्छन । तर, म्याग्दीका एक व्यक्तिले करिब दुई वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका–२ ज्यामरुककोटको वडा अध्यक्षको उम्मेदवार बन्न तत्कालिन एमाले पार्टीले गरेको प्रस्तावलाई अस्वीकार गरेर बाख्रा पालन शुरु गरे । २० लाख रुपैयाको लगानीमा शुरु गरेको बोयर जातको बाख्रापालनमा मजाले रमाएका छन–बेनी नगरपालिका–२ खबराका यामवहादुर खड्का ।

 

‘बाख्रासँग त खुब रमाउनुभएको छ, कमाउन चैं के गर्नुभएको छ नि ?’ प्रश्न सकिदा नसकिँदै हँसिला ४८ वर्षिय खड्काले ठ्ट्यौली पारामा भने ‘पहिला रमाउन सिक्नु पर्छ अनि कमाइ त भैहाल्छ नि ।’

 

खडकाले खबरा कृषि तथा बाख्रा फर्म दर्ता गरी अफ्रिकन बोयर जातका बाख्रा पाल्न शुरु गरे । गत साउनमा चितवनको जगतपुर एग्रोबाट बाख्रा ल्याएर पाल्न सुरु गरेका खड्काको बाख्रा फर्म एक रोपनी क्षेत्रफलमा फैलिएको छ ।

 

खड्काको फर्ममा दुई स्थानीय लोकल, आठ बोयर क्रस, पाँच पाठी, एक बोका र छ बोयर जातका गरी १६ वटा बाख्रा छन् । बाख्रा ब्याएको छ महिनामा बेच्नका लागि तयार हुने खड्काको भनाई छ ।

 

बाख्रालाई दाना, भुँई घाँस तथा ढाले घाँस खुवाउँदै आइरहेको उनले बताए । बोयर जातको बोकाको मुल्य तीन लाख रुपैयाँ छ भने पाठीको दुई लाख २५ हजार रुपियाँ पर्ने खड्काको भनाइ छ । छिटो हुर्कने र आर्थिक रुपमा छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले अफ्रिकन बोयर जातका बाख्रापालन गरेको खड्काले बताए ।

 

खड्का नेपाली सेनाबाट अवकास प्राप्त व्यक्ति हुन । रोजगारीको खोजीमा विदेश पलायन हुने युवालाई स्वदेशमा टिकाउन र स्थानीय दलित, विपन्न तथा गरिव परिवारलाई आत्मनिर्भर बनाउन बाख्रापालन गरेको बताउने खड्काको राजनीतिमा पनि उत्तिकै रुचि छ ।

 

गरिब र विपन्न परिवारले बाख्रा पाल्न चाहेमा निःशुल्क रुपमा पनि बाख्राका पाठीहरु उपलब्ध गराउने उनले प्रतिवद्धता जनाए । पैसा कमाउनका लागि भन्दा पनि गाउँका युवालाई कृषि खेतीतर्फ आकर्षित गरी गाउँमै व्यवसायिक बनाउन आफूले व्यवसाय सुरु गरेको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्