कोरोना प्रभाव : सम्पूर्ण खेल गतिविधि एक साता बन्द



काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वको खेलकुद क्षेत्रमा प्रभाव परिरहेको छ। विश्वभर संचालनमा रहेका तथा सुरु हुने तयारीमा रहेका सबै खेलकुद प्रतियोगिता धमाधम स्थगित भइरहेका छन्। नेपालले पनि विभिन्न खेलहरु स्थगित गर्दै आएको छ।

कोरोनाभाइरसको विश्वव्यापी संक्रमणले नेपाल पनि उच्च जोखिममा छ । नेपालमा हालसम्म एक जनामा मात्र कोरोनाभाइरसको संक्रमण देखिए पनि उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सुझाव छ । यसैलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाईरसको जोखिमबाट बच्न राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ता देशको सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएको हो । राखेपले त्यस पश्चात भने परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको छ ।

कोरोना भाईरस अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था सिर्जना भएको र विश्वका ठुला राष्ट्रले समेत विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानविय भेला हुने सम्पूर्ण गतिविधि एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको राखेपले जनाएको छ ।

यस्तै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्