बाँध भत्किँदा बेपत्ता ३०० जना जीवित भेटिने आशा कम



ब्रुमाडिन्हो (ब्राजिल) : ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा एउटा बाँध भत्किँदा बेपत्ता करिब ३ सयजनालाई जीवितै उद्धार गर्ने आशा झिनो बनेको स्थानीय उद्धारकर्मीले जनाएका छन् । 

शुक्रबार दिउँसो करिब १ बजे भएको उक्त घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको ३ सय०० भन्दा बढी व्यक्ति हराइरहेका छन् । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे सहरमा पहिरो गएपछि बेपत्ता बनेका कसैलाई पनि शनिबार जीवित उद्धार गर्न नसकिएको उनीहरूले बताएका छन् । 

मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई भने- उद्धार प्रयास निरन्तर भइरहेपनि घटनामा परेका व्यक्तिहरू जिवितै पाइने आशा झिनो बनेको छ ।

घटनापछि ब्राजिलका राष्ट्रपतिले आफ्नो डाभोस सम्मेलनको कार्यक्रमलाई छोट्याएर शुक्रबार नै स्वदेश फर्केका छन् । उनी आज घटनास्थल जाने कार्यक्रम छ । यसअघि उक्त घटनामा १ सय ५० जना बेपत्ता बनेको बताइए पनि शनिबार सरकारी अधिकारीहरूले नै उक्त सङ्ख्या ३ सय हाराहारीमा रहेको बताएका छन् । 

बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहरको करिब ३९ हजार जनसङ्ख्यामा प्रभाव परेको बताइएको छ । बाँध फुटेर एक्कासी ठूलो मात्रामा सहर र नजिकैका घरहरू, सडकहरू, तरकारी तथा अन्य बालीमा प्रभाव परेको अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्