दसैंका लागि रुट परमिट खुला



काठमाडौँ : यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । 

 

विभागले नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई रुट परमिट खुला गरेको हो । 

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले रुट परमिट खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन तथा लैजानका लागि पालो पर्खनु नपर्ने बताए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले रुट परमिट खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताए । 

 

विभागले सो समयमा सामान बोकेर काठमाडौँ भित्रिने ‘मल्टी एलेक्स ट्याक्टर ट्रेलर’ ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ । 

ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले आजदेखि असोज ३१ गतेसम्म नारायणघाटबाट काठमाडौँ आउने ठूला सवारी साधनलाई रोक लगाएको हो । 

प्रतिक्रिया दिनुहोस्