प्रदेश २ : माैका मिल्याे कि आरोपप्रत्यारोप



जनकपुर : अहिले जनकपुरमा आयोजना हुने जुनसुकै कार्यक्रममा सत्ता पक्ष र विपक्षबीच शिष्ट भाषामा आरोप प्रत्यारोप हुँदै गरेको दृश्य सामान्य भइसकेको छ ।

त्यस्तै दृश्य आइतबार पनि दोहोरियो । जनकपुरमा आयोजित डेमोक्रेसी रिसर्च सेन्टरको कार्यक्रममा सहभागी विपक्षी नेताले प्रदेश २ सरकारमाथि गम्भीर प्रश्न तेर्स्याएका थिए भने सत्तापक्षधर संघीय सरकारले सहयोग नगरेको र कानुन नबनेको भन्दै पन्छिन खोजे ।

 

प्रतिपक्षी दल कांग्रेसका नेता रामसरोज यादवले प्रदेश २ का मन्त्री भिजनविहीन रहेको आरोप लगाए । प्रदेशसभा सदस्य यादवले वर्तमान प्रदेश २ सरकारले तथ्यतथ्यांकमा आधारित नभई हावाको भरमा बजेट ल्याएको बताए । उनले मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमाथि व्यंग्य गर्दै भने, ‘यो सरकार केटाकेटी खेलमा रमाएको छ ।’

 

कुनै पनि प्रदेशको राजधानी, नामकरण र भाषाको विषय महत्वपूर्ण भएको बताउँदै यादवले प्रश्न गरे, ‘१६–१७ वटा कानुन बनाइसकेको सरकारले राजधानी र भाषाको विषयमा किन विधेयक ल्याउँदैन ?’

सत्ता साझेदार दलका नेता एवं प्रदेशसभा सदस्य परमेश्वर साहले संघीय सरकारले ‘सौतेलो’ व्यवहार गरेकाले समस्या भएको बताए । प्रदेश २ मा विपक्षीले भनेको जस्तो अवस्था नरहेको, प्रदेश सरकारले थुप्रै कानुन बनाइसकेको र त्यसमा विपक्षले समर्थन गरेको उनले बताए । राजपा नेपालको प्रदेश २ सचेतकसमेत रहेका उनले भने, ‘७ वटा विधेयकमा समितिमा छलफल हुँदैछ ।’ 

 

केन्द्र सरकारले कानुन नबनाइदिएका कारण प्रदेश र स्थानीय तह बन्दी भएको उनको टिप्पणी थियो । साहले भने, ‘संघीय सरकारलाई माघ १५ सम्म २ सयभन्दा बढ़ी कानुन बनाइसक्नुपर्ने थियो तर त्यो हुन नसकेको अवस्था छ ।’

 

कार्यक्रममा सेन्टरले आफ्नो तेस्रो आवधिक प्रतिवेदनको सारांश प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्