कोरोनाले ठप्प पारेको राजीतिक गतिविधि ! के सचिवालय बैठकमा उठ्ला वामदेवको विषय ?



फोटो फाइल

काठमाडौं : कोरोनाभाइरसको संक्रमण उच्च भएपछि १५ दिनयता राजनीतिक गतिविधि प्रायः ठप्प जस्तै भएको छ । राजनीतिक दलका भेला, सभा तथा प्रशिक्षण कार्यक्रम स्थगित भएका छन् भने अहिले देशनै कोरोनाभाइरसको संक्रमण कसरी रोक्न सकिन्छ भन्ने प्रयासमा लागेका छन् ।

यसै विषयमा छलफल गर्न आज (मंगलबार) सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मृगौला पुन: प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बैठक बसेको थियो । बैठक बसेको १७ दिनपछि आज नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

हिजो (मंगलबार) प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका हुन् । बैठक आज (बुधबार) अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

त्यसोत मंगलबार दुई अध्यक्षबीच छलफलका लागि महासचिव विष्णु पौडेलले भूमिका खेलेका थिए । पौडेलले बिहान खुमलटार पुगेर प्रचण्डसँग छलफल गरेका थिए ।

मंगलबार दुई अध्यक्षबीच पार्टी एकताका बाँकी काम, उपाध्यक्ष गौतमका सन्दर्भमा सचिवालयले गरेको निर्णय र कोरोनाभाइरस संक्रमणको जोखिमबाट जोगिने उपायलगायत विषयमा भएको छलफलपछि दुवै अध्यक्ष बैठक बोलाउने निष्कर्षमा पुगेका हुन् ।

त्यसोत आज बस्ने बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि छलफल हुने महासचिव बताइएको छ ।

प्रधानमन्त्री ओली समेत सहभागी हुने यो बैठकले कोरोनाभाइरसको संक्रमणबाट जोगिन जनस्तरमा चेतनात्मक कार्यक्रम अघि बढाउन कार्यकर्ता परिचालन गर्नेबारे छलफल गरि आवश्यक निर्णय हुने बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार कोरोनाभाइरसको संक्रमण देशमा भित्रिन नदिन र भित्रिहाले के गर्ने भनेर सरकारले गरेको तयारीका विषयमा समेत बैठकमा छलफल हुने छ ।

त्यसोत नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बैठकका एजेण्डा अहिले जानकारी गराउने नगरिएको बताएका छन् । नेता खनालसँग उपाध्यक्ष वामदेव गौतमबारे आजको बैठकमा केहि निर्णय हुनसक्छ भन्नेबारेमा बुझदा उनले वामदेवलाई राष्ट्रियसभा लैजाने विषयमा पार्टीले जे निर्णय गर्यो त्यो भइसकेको बताए । त्यसबारे पुनर्विचार नहुने र छलफलमा पनि आउने विषय नभएको बताएका छन् ।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रियबाट मनोनीत कोटामा पठाउने–नपठाउने विषय विवादमा छ । गत फागुन १८ गतेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा प्रधानमन्त्री ओलीले असहमति जनाएपछि विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्