महेशपुर भन्सारद्वारा नौ लाखको अवैध कपडा बरामद



परासी : सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ ।

जिल्लाको विभिन्न स्थानबाट करिब रु नौ लाखको अवैध लत्ताकपडा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । रातीको समयमा अवैधरूपमा कपडा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा भन्सारबाट खटिएको टोलीले रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट उक्त कपडा बरामद गरिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले राससलाई जानकारी दिए ।

“रामग्राम–७ उजैनी, रामग्राम–४ जीतपुर, पाल्ही क्याम्पस सडकलगायतका स्थानबाट एकैपटक उक्त कपडा बरामद गरिएको छ”, उनले भने, “म आफैँ पनि खटिएर ठूलो मात्राको उक्त सामान बरामद गर्न सफल भइयो, कपडा र तस्करले प्रयोग गरेका दुई मोटरसाइकल पनि बरामद गरिएको छ, तस्करी नियन्त्रणका लागि हामी निरन्तर लागिरहेका छौँ ।”

कपडा र मोटरसाइकल बरामद भए पनि तस्करहरु भने भाग्न सफल भएको भन्सार कार्यालयले जनाएको छ । यहाँबाट भारतबाट लत्ताकपडा, जुत्ताचप्पल, खाद्यान्न बढी मात्रामा तस्करी हुने गरेको छ भने कालो मरिच, मटर, केराउ, सुपारीलगायतको चोरी निकासी बढ्दो छ ।

जिल्लाको भुजहवा र विष्णुपुरा छोटी भन्सारबाट बढी मात्रामा चोरी निकासी पैठारी हुने गरेको महेशपुर भन्सारले जनाएको छ । महेशपुर मूल भन्सारको पश्चिमतर्फ रहेको भारतको खुला सिमानासँग जोडिएका नेपालको गोपालपुर, मुडेरा, गेरमी, विष्णुपुरा, रगरगञ्ज, सनई पडरी हुँदै सदरमुकाम परासीसम्मको बाटो तस्करले बढी प्रयोग गर्ने गरेको बताइन्छ ।

यसैगरी महेशपुर भन्सारकै पूर्वतर्फ रहेको भारतको खुला सीमासँग जोडिएको नेपालको रमपुरवा, भुजहवा, हर्सपुरा, बसहिया, गुठीप्रसौनी, बलीनगर, रतनगञ्ज, सुस्ता, त्रिवेणीसम्मबाट पूर्वपश्चिम राजमार्गअन्तर्गतको बर्दघाट, भूमही, चिसापानी, भूताहा, बासालगायतका स्थानमा ल्याउने र यस क्षेत्रमा चल्ने सवारी प्रयोग गरी बुटवल, नारायणगढलगायतका शहरमा तस्करहरुले मालवस्तु पठाउने गरेको स्थानीयवासी बताउँछन् ।

चोरी निकासी पैठारी नियन्त्रणका लागि सुराकी परिचालन, एकल गस्ती, संयुक्त गस्ती, सम्बन्धित क्षेत्रका छोटी भन्सारको सक्रियता, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय एवं सहकार्य गर्दै आएको भन्सार प्रमुख शर्माले बताए । रासस

प्रतिक्रिया दिनुहोस्