७० लाख विद्यार्थीलाई घरबाहिर नजान सरकारद्वारा अपिल



काठमाडौं : सरकारले ७० लाख विद्यार्थीलाई घरबाहिर ननिस्कन अपिल गरेको छ । कोरोनाभाइर (कोभिड–१९) संक्रमणकोबारे सतर्कता अपनाउन सरकारले भोलि (बिहीबार)देखि ७० लाख विद्यार्थीलाई घरबाहिर नजान अपिल गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अपिल जारी गरी परीक्षा सकिएका कक्षा १ देखि ९ सम्मका विद्यार्थीलाई नयाँ शैक्षिक सत्र शुरु नहुन्जेलसम्म (आगामी तीन हप्ता) घरबाहिर नजान अपिल गरेको हो । देशभरका कक्षा १ देखि ९ सम्मका विद्यालयमा आज (बुधबार) परीक्षा सकिँदैछ ।

मन्त्रालयद्वारा जारी अपिलमा “संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान एवं यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखी विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आमभेला नगर्न सबैमा अनुरोध छ,” उल्लेख गरिएको छ ।

चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सक्न विद्यालयलाई सरकारले निर्देशन दिएको थियो । त्यही निर्देशन अनुसार आजबाट देशभरका सबै विद्यालयमा परीक्षा सकिँदैछ ।

चीनको वुहान प्रान्तबाट गत डिसेम्बरबाट फैलिएको कोरोनाभाइरस संक्रमणले विश्वभर महामारीको रुपमा फैलिरहेको छ ।

नेपालमा भने अहिलेसम्म एक जनालाई मात्रै संक्रमण पुष्टि भएको फेला गरेको थियो । तर, ती व्यक्ति पनि उपचारपछि सन्चो भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्