ज्यानमारा मदिराका बोतलले भरिएको प्रदेशसभा परिसर (फोटोफिचर)



जनकपुरधाम : पछिल्लो समय यता प्रदेश २ मा विषाक्त मदिरा सेवन गरेर मृत्यु हुनेहरुको संख्या बढ्दै गएपछि अवैध मदिरा भठ्ठीहरु बन्द हुनुपर्ने सर्वत्र आवाज उठ्दै आईरहेको छ ।

केही दिन अगाडी मात्रै धनुषामा विषाक्त मदिरा सेवन गर्दा दर्जनौँ व्यक्तिको मृत्यु भएपछि प्रदेश २ को प्रदेशसभामा मदिरा देखि अवैध मदिरा भठ्ठी बन्द गर्नसम्मको आवाज प्रदेशसभा सदस्यहरुले समेत उठाए ।

प्रदेशलाई मदिरामुक्त बनाउनका लागि नेकपाका प्रदेशसभा सदस्य शत्रुधन महतोेले समाजवादी पार्टीका प्रमुख सचेत शैलेन्द्र कुमार यादव र राजपाका प्रमुख सचेतक परमेश्वर साहको समर्थनमा विशेष सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गराएका छन् । महतोले दर्ता गराएको प्रस्तावमा सदनमा सबै प्रदेशसभा सदस्यहरुले समर्थन समेत जनाएका थिए ।

प्रदेशसभामा घरेलु मदिरा प्रतिबन्ध गर्नका लागि आवाजा उठ्न थालेपछि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले ३ दिन भित्रै प्रदेश २ मा अवैध मदिरा भठ्ठीहरु बन्द गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर मन्त्री यादवले प्रदेशलाई मदिरामुक्त प्रदेश बनाउने उदघोष गरेपनि प्रदेशसभा भवन नै महँगो मदिराको खाली बोतलले भरिएको देखिएको छ ।

तस्वीरमा देखिएका बोतलहरु अन्य कुनै स्थलमा नभई अवैध भठ्ठी बन्द गराउनका लागि कानून निर्माण गर्ने थलो प्रदेशसभा परिसर भित्रकै हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अवैध भठ्ठीहरु ३ दिन भित्रै बन्द गराउने प्रतिबद्धता गरेको भोली पल्ट नै पत्रकारहरुको टोली रिपोर्टिंगका लागि पुग्दा ती खाली बोतलहरु आफ्नो क्यामरामा कैद गर्न सफल भएका थिए ।

यति मात्र नभई प्रदेशसभाको परिसर भित्रै फोहोरको थुप्रो थुपारिएको दृश्य समेत देखियो । ती फोहोरहरु मैे महँगो मदिराका खाली बोतलदेखि बियर तथा पानीका बोतलहरुको चाँग छ ।

जबकि प्रदेशका मन्त्री यादवले चैत ३ गते बसेको प्रदेशसभा बैठकमा रोष्टममै गएर ३ दिन भित्र अवैध भठ्ठी बन्द गर्ने तथा मदिरालाई निरुत्साहित गर्ने अठोेट व्यक्त व्यक्त गरे । उनले दिएको सो अभिव्यक्ति दिएको दुई दिन बिति सकेको छ ।

यद्यपि अहिलेसम्म त्यस दिशामा पहल भएको देखिदैन । बरु प्रदेशसभा भवनको परिसर नै मदिराका खाली बोतलबाट भरीभराउ परेको छ ।

प्रतिक्रिया दिनुहोस्