नारायणकाजी श्रेष्ठले माओवादी सिध्यायो, अब नेकपा सिध्याउँछ–डा. भट्टराई



काठमाडौं : समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको गुटले पार्टी नै सिध्याउँने आरोप लगाएका छन् ।

बिहीबार समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले श्रेष्ठ गुटले पहिला नेकपा माओवादी सिध्याएको र अब नेकपा पनि सिध्याउँने दाबी गरेका छन् ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता समेत रहेका श्रेष्ठले शिक्षा र स्वास्थय मन्त्रालय लिएर पार्टीमा सधै गुट सञ्चालन गर्दै आएको र त्यो गुटले पार्टीलाई नै सिध्याउँने डा. भट्टराईको भनाई रहेको छ ।

‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन हैन, केही दिन पहिल्यै परीÞक्षा रोके होलान् !, यती कुरो केही दिन अघि गरेको भए विद्यार्थी÷अभिभावक कति तनावमुक्त हुन्थे ? कति खर्च बच्थ्यो ? यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिनेः गुट चलाउने हो ! माके सिध्यायो ! अब नेकपा सिध्याउँछ !’ डा. भट्टराईले आफ्नो ट्वीटरमा ट्वीट गरेका छन् ।

मोहनविक्रम सिंह नेतृत्वको तत्कालीन नेकपा मसालमा रहेर श्रेष्ठ समूहले माओवादी जनयुद्धविरूद्ध आलोचना गरिरहेको थियो । तर, शान्तिप्रक्रिया शुरु भएपछि २०६५ पुसमा तत्कालीन नेकपा माओवादीमा श्रेष्ठ समूह प्रवेश गरेको थियो । पार्टी एकीकरणपछि श्रेष्ठ समूहले माओवादी र हालको सत्तारूढ नेकपाभित्र पटक–पटक अवसर पाइरहेको दाबी भट्टराईको रहेको छ ।

श्रेष्ठ समूहकै नेता गिरीराजमणी पोखरेल अहिले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री छन् । केही दिन अघि डा. भट्टराईले पठनपाठन एवं परिक्षा स्थगित गर्नुपर्ने माग गरेका थिए । तर, सरकारले उनको माग सुनुवाई नगरी बुधबार मात्रै स्थगित गर्ने सार्वजनिक अपिल गरेको छ ।

सोही कुरालाई लिएर उनले श्रेष्ठ समुहमाथि प्रहार गरेका छन् । श्रेष्ठ समुह तत्कालिन माओवादीमा प्रवेश गरेपछि सो पार्टी पटकपटक विभाज भएको दाबी भट्टराईको रहेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा जनयुद्ध शुरु भएको र उनका सहयात्रीहरु मोहन वैद्य किरण, भट्टराई, नेत्रविक्रम चन्द विप्लव अहिले छुट्टाछुट्टै राजनीतिक दलमा रहेका छन् ।

कोरोनाभाइरसको संक्रमणका कारण परीक्षा स्थगित गर्ने निर्णय ढिला गरी लिएको र टाढाबाट परीक्षाका लागि तयारीमा आएका विद्यार्थीमाथि थप तनाव भएको भन्दै शिक्षामन्त्री पोखरेलको आलोचना भइरहेको छ । परिक्षा स्थगित गर्न भट्टराईले दुई हप्ता अघि नै माग गरेका थिए ।

श्रेष्ठ र भट्टराईको गृहजिल्ला गोरखा हो । प्रतिनिधिसभाको गत निर्वाचनमा श्रेष्ठ र भट्टराई गोरखा २ बाट प्रतिस्पर्धा गरेका थिए । भट्टराईले श्रेष्ठलाई पराजित गरेका थिए । अहिले श्रेष्ठ राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्