बलात्कारपछि हत्या गरिएकी आकृतिको हत्यारा पक्राउ



इलाम : सूर्योदय नगरपालिका-१३ की आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ ।

हत्याको आरोपमा छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । गत मंगलबार कक्षा ११ को जाँच लेख्न विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको रोशनले बयान दिएको प्रहरीले जानकारी दिएको छ ।

उनको हत्या गरी माटोमा गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो । सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मा.वि कक्षा ११ मा पढ्दै थिईन् । मंगलबार बिहान घरबाट परीक्षा दिन भनी हिँडेकी तर विद्यालय नपुगेपछि खोजतलास सुरु गरिएको थियो ।

बुधबार दिउँसो अम्लिसो (अम्रिसो) बारीमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शवलाई थप परीक्षणका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको थियो ।

प्रहरीसामु रोशनले बलात्कारको घटना सार्वजनिक गर्छु भनेपछि आकृतिलाई हत्या गरेको खुलाएका छन् । ढुंगाले टाउकोमा हानेर हत्या गरेको र आफ्नै गाई बाध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा लगेर खाल्डो खनेर गाडेको रोशनको बयान उद्धृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्