कोरोनाभाइरसको प्रकोप : वायुसेवा क्षेत्रमा दुई खर्ब अमेरिकी डलर आपतकालीन सहयोग आवश्यक



एजेन्सी : कोरोनाभाइरसबाट प्रभावित बनेको विश्वका वायुसेवा कम्पनीहरू आपतकालीन सहयोगस्वरूप करिब दुई खर्ब अमेरिकी डलर सहयोगको आवश्यकता पर्ने अन्तर्राष्ट्रिय उड्ययन संगठन आइएटीएले बिहीबार बताएको छ ।

खासगरी अफ्रिकी तथा मध्यपूर्वी मुलुकका एअरलाइन्स कम्पनीलाई आपतकालीन सहयोगको आवश्यकता परिसकेको संगठनले बताएको छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनले बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “सहयोगको उपाय अतिआवश्यक भएको र यसका लागि कम्तीमा दुई खर्ब आपतकालीन सहयोगको माग भएको छ ।”

बिहीबारसम्म नौ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण अत्यधिक हवाई सेवा अवरूद्ध बनेको र यस क्षेत्रमा अप्रत्यासित खडा भएको चुनौतीका कारण विश्वभरका वायुसेवा प्रदायक कम्पनीहरू नराम्रोसँग प्रभावित बनेको संगठनले जनाएको छ ।

“सबै मुलुकका सरकारको उच्च प्राथमिकता कोभिड–१९ को सङ्क्रमण फैलिने क्रमलाई रोक्नु रहेको छ,” आइएटीएका प्रमुख अलेक्जेन्डर दे जुनेइकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उहाँले भन्नुभयो, “उनीहरू यो कुरामा सचेत बन्न पनि जरूरी छ कि उनीहरू सार्वजनिक स्वास्थ्य सङ्कटका कारण उड्ययन क्षेत्रलगायत विश्व अर्थतन्त्रमा नराम्रो प्रभाव परेको छ । स्वास्थ्य समस्याका कारण सिर्जित अहिलेको औद्योगिक सङ्कट अमेरिकामा सन् २००१ मा भएको सेप्टेम्बर ११ आक्रमण, विश्वव्यापी सार्स समस्या र सन् २००८ मा छाएको विश्वव्यापी मन्दीको समयभन्दा धेरै खराब अवस्थामा रहेको छ ।”

“वायुसेवा कम्पनीहरू अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेका छन् भने हजारौ रोजगारीहरू गुम्ने संहारमा रहेका छन्,” जुनेइकलु भने ।

आइएटीएले अफ्रिका र मध्य पूर्वका वायुसेवा प्रदायक कम्पनीबारे खासगरी चासो व्यक्त गरेको हो जहाँ कैयौँ हवाई मार्गहरू अवरूद्ध बनेका छन् र हवाई यातायातको मागमा ६० प्रतिशतले गिरावट आएको छ ।

अफ्रिकाको कुल ग्राहस्थ उत्पादनमा हवाई यातायातका कारण मात्र करिब ५५ अर्ब ८० करोड अमेरिकी डलर योगदान पुग्ने गरेको छ भने ६२ लाख व्यक्तिलाई रोजगारी मिलेको छ । यो उक्त महादेशको कुल ग्राहस्थ उत्पादनको २ं६ प्रतिशत योगदान हो ।

त्यस्तै मध्यपूर्वमा हवाई यातायातको योगदान एक खर्ब ३० अर्ब अमेरिकी डलर रहेको छ भने यो त्यहाँको कुल ग्राहस्थ उत्पादनको ४।४ प्रतिशत हो भने मध्यपूर्वमा उड्ययन क्षेत्रबाट करिब २४ लाख व्यक्तिले रोजगारी पाएका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्