यस्तो छ कोरोना संक्रमण रोकथामका लागि प्रदेशको तयारी



काठमाडाैं : विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसको नेपालमा अहिलेसम्म गरिएका परीक्षणमा सबैजसो नेगेटिभ देखिएका छन् । तर कोरोना कुनै पनि बेला फैलन सक्ने सम्भावना भने उच्च रहेको छ । त्यसैले अहिले केन्द्र मात्र नभई प्रदेश र स्थानीय सरकारले पनि कोरोना संक्रमण रोकथामका लागि आ–आफ्नो क्षेत्रबाट तयारी थालेका छन् ।

विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिमबाट नेपाल र नेपालीलाई बचाउन विभिन्न पहल भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । हालसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएको तर भविष्यमा देखिन सक्ने सम्भावना उच्च रहेकाले सम्भावित जोखिम न्यूनीकरण गर्न मन्त्रालयले प्रदेशस्तरीय जोखिम न्यूनीकरणको काम अगाडि बढाएको उनले बताए ।

सातवटै प्रदेशको तयारी यस्तो

प्रदेश १ : प्रदेशअन्तर्गतका चार अस्पतालमा ३६ वटा आइसोलेसन बेडको तयारी गरिएको छ । प्रदेशमा रहेका चारवटा स्थलगत नाकामा हेल्थडेस्क स्थापना गरेर प्रत्येक व्यक्तिको स्वास्थ्य जाँचसमेत भइरहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । यसका साथै कोरोना संक्रमण सम्बन्धी दु्रत प्रतिकार्य समिति गठन गरिएको उनले बताए ।

प्रदेश २ : स्वास्थ्य निर्देशनालय प्रदेश २ ले कोभिड–१९ को रोकथाम तथा प्रतिकार्यका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर प्रवेश नाकामा हेल्थडेस्क सुदृढीकरण गर्ने कार्य गरिरहेको छ । यसका साथै आइसोलेसन कक्षको व्यवस्थापन र औषधि तथा उपकरणको व्यवस्थापन गर्ने विषयमा पनि थप छलफल भइरहेको जनाइएको छ ।

बागमती प्रदेश : सामाजिक विकास मन्त्रालय र सरोकारवाला निकायसँग समन्वय गरेर उच्चस्तरीय अनुगमन समिति बनाएर कोरोना रोकथाम र नियन्त्रणका गतिविधि सञ्चालन र अनुगमन गरिरहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

गण्डकी प्रदेश : कोरोना भाइरस नियन्त्रण र प्रतिकार्यका लागि सरोकारवाला निकायको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्तरीय समन्वय समितिलगायत विविध १० वटा विषयगत समिति गठन गरिएको छ ।

त्यसैगरी हेल्थडेस्क स्थापनाका लागि समन्वय तथा विभिन्न अस्पतालका स्वास्थ्य प्राविधिकलाई तालिम र अभिमुखीकरण तालिम पनि दिइएको छ । अस्पतालमा ८० वटा आइसोलेसन बेड, क्वारेन्टाइन स्थलको व्यवस्थापनका लागि स्थानको खोजी, उद्धार कार्यका लागि एम्बुलेन्सको व्यवस्थापन जस्ता सम्पूर्ण तयारी गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रदेश ५ : सामाजिक विकास मन्त्रालयले नेपाल–भारतको नाकामा रहेका हेल्थ डेस्कको अनुगमन गर्न समूह विभाजन गरेर कोरोना संक्रमण जोखिम न्यूनीकरणको काम गरिरहेको छ । प्रदेशस्तरीय १४ वटा अस्पतालमा ८९ वटा आइसोलेसन बेड व्यवस्था गरिएको छ । दिनहुँ पत्रकार सम्मेलनमार्फत कोरोना संक्रमण सम्बन्धि पछिल्लो जानकारी पनि दिने गरिएको छ ।

कर्णाली प्रदेश : प्रदेश अस्पतालको नयाँ भवनमा २० वटा बेडसहितको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यस्तै प्रदेश अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरी नियमित रूपमा कोरोना सम्बन्धी जानकारी दिने गरिएको छ ।

प्रदेशका ६ वटा नाकामा हेल्थडेस्क स्थापना गरी स्वास्थ्य सूचना केन्द्र तथा स्वास्थ्य जाँचको व्यवस्थासमेत गरिएको छ । यसका साथै कोरोना भाइरस सम्बन्धी सचेतनामूलक कार्यविधि तयार गरेर सर्वसाधारणलाई वितरण गरिएको पनि उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश : सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले कोरोना संक्रमणको रोकथाम, प्रतिकार्य र व्यवस्थापनका लागि नीतिगत निर्णय गरेको प्रवक्ता देवकोटाले बताए । प्रदेशको भारतसँग जोडिएका ११ वटा नाकामा हेल्थडेस्क स्थापना गरी स्वास्थ्य सूचना केन्द्र तथा स्वास्थ्य जाँच गर्ने गरिएको छ ।

प्रदेशले कोरोना संक्रमणको निगरानी तथा रोकथाम सम्बन्धी हेल्थडेस्क सञ्चालन मार्गदर्शन– २०७६ तयार पारेर कार्यान्वयनमा ल्याएको छ । त्यस्तै प्रदेशस्तरीय १८ वटा अस्पतालमा ४७ वटा आइसोलेसन बेड व्यवस्था गरेको छ । याे समाचार नयाँपत्रिका दैनिकमा रेश्मा सिंहले लेखेकी छन ।

प्रतिक्रिया दिनुहोस्