पक्की कुलो बन्दै, किसान रमाउँदै



घोराही : दङ्गीशरण गाउँपालिका–३ रावतगाउँका किसान नाल्टु चौधरी आजभोलि औधी खुशी छन । उमेरले ६५ वर्ष नाघिसक्नुभएका उहाँ ३० वर्षदेखि निरन्तर काँधमा फरुवा बोकेर कुलो सोहोर्दै आएका थिए । हिउँदमा बनेको कच्ची कुलो हरेक वर्षात्ले भत्काउँछ । उनले हरेक पटक खेतबारीमा सिँचाइ गर्दा फरुवाले कुलो बनाउनैपर्छ ।

हातपाखुरा कमजोर हुँदै गएपछि फरुवाले कुलो सोहोर्नसमेत उहाँलाई धौधौ भएको थियो । तर अहिले उहाँको त्यो समस्या हटेको छ । उहाँलाई लाग्छ समय फेरिएको छ । गाउँमा खेतबारीमा सिँचाइ गर्ने कच्ची कुलो, पक्की बनिसक्यो । अचेल पक्की नाली बनेको देख्दा उनमा खुशीको सीमा बढेको छ ।

“गाउँगाउँमा सिँचाइका लागि पक्की कुलो बन्दैछ । यस्तो सुखको दिन आउलाजस्तो लागेको थिएन”, किसान चौधरी फिस्स हाँस्दै भने, “जुन गाउँ जाँदा पनि पक्की नाली बनेको देख्छु, देशमा साँच्चिकै विकास हुँदैछ भन्ने अनुभूत भएको छ ।” उनको आफैँ बनाएर सिँचाइ गर्नुपर्ने एक बिघा जमिनमा अहिले सिँचाइ पुगेको छ ।

दङ्गीशरण–५ कुमलगडीका सूर्यदास चौधरी ६१ वर्षका भए । १२ वर्षको उमेरदेखि नै उहाँको खेती किसानीमा दैनिक बितेको थियो । “वर्षा शुरु हुनेबित्तिकै फरुवा लिएर कुलो लाग्न जानुपथ्र्याे अब पक्की नाली बन्दैछ । कुलो लाग्ने समस्याबाट मुक्ति पाइने भयो”, उनले भने । दङ्गीशरण–४ मौलीका मित्रलाल रावल उमेरले ७५ वर्ष काटे ।

गाउँपालिका नजिकै बनेको नाली हेर्दै हिँडिरहेका उनले भने, “छोरानातिका दुःखका दिन गए”, साठी वर्ष अगाडिको दुःख सम्झँदै उनले भने, “हामी त फरुवा कुटो, कोदालो हातले चलाएर काम ग-यौँ, फरुवा लिएर कुलो झार्न जान्थ्यौँ, खेत खन्थ्यौँ, अहिले सबै बाटा, कुलो नाली पक्की बन्दैछन् । सुखका दिन आउँदैछन् ।”

दङ्गीशरण वडा नं ५ मिरौलीमा कुलो निर्माणमा हेकुलीकी सीता चौधरी र रविता चौधरी काम गरिरेहको भेटिए । उनीहरु दैनिक नौ घण्टा खेतबारीमा काम गर्छन । ठेकेदारले आठ घण्टा काम गर्ने भने पनि कुलो निर्माण छिट्टै सकिएला भनेर उनीहरु नौ घण्टा काम गरेको बताउछन । पक्की कुलो बनाउने काम छिट्टै सकिएपछि वर्षा शुरु हुँदा कुलो लाग्नुपर्दैन । पानी चुहिएर कुलोको पानी खेर जाने समस्या पनि छैन ।

दङ्गीशरण गाउँपालिका वडा नं ३ स्थित हेकुलीगाउँमा सिँचाइ सुविधा पु¥याउनका लागि पक्की कुलो निर्माण जारी छ । प्रदेश सरकारको रु एक करोड ६५ लाख लागतमा पक्की कुलो निर्माण भइरहेको छ । तीन हजार ३०० मिटर लम्बाइको पक्की कुलो निर्माणपछि हेकुलीगाउँका करिब डेढ सय घरधुरी सिँचाइ सुविधा लिन सक्नेछन् ।

निर्माणाधीन सो कुलो ८० सेन्टिमिटर चौडाइ र ६० मिटर अग्लो रहेको निर्माण व्यवसायी ईश्वर पुनले जानकारी दिए । विसं २०७६ माघमा जलजला निर्माण सेवा घोराही दाङसँग २०७७ माघमा निर्माण सक्ने गरी सम्झौता गरे पनि यही असार मसान्तमा निर्माण सकिने उनले बताए । सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गणेश मरासिनीका अनुसार दङ्गीशरणमा विसं २०७४÷७५ मा पाँच स्थानमा पक्की कुलो निर्माण भएका छन् ।

विसं२०७५÷७६ मा १० गरी जम्मा १५ पक्की कुलो निर्माण सम्पन्न भइसकेको दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि गाउँपालिकाका सबै वडामा करिब दर्जन बढी पक्की कुलो बन्ने प्रक्रियामा रहेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्