घटस्थापनाकाे दिन, हल हलमा छक्का पन्जा-३ !



काठमाडौं  : ‘छक्का पञ्जा’ सिरिजको तेस्रो शृंखला बुधबारबाट प्रदर्शनमा आएको छ । शुक्रबार फिल्म रिलिज गर्ने परम्परालाई तोड्दै घटस्थापनाको अवसर पारेर फिल्म रिलिज गरिएको हो । फिल्म मल्टिप्लेक्स तथा सिंगल थिएटरमा देशभर एकल रिलिज भएको हो ।

 

रिलिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा फिल्मकी निर्देशक दीपाश्री निरौलाले अब कमेडी फिल्म मात्र नबनाउने बताएकी छन् । पछिल्लो समय कमेडीमै सफलता मिल्दै आए पनि अब फरक रूपमा प्रस्तुत हुन चाहेको उनको भनाइ थियो । ‘अब नेपालमा हँसाउने र रुवाउने फिल्म मात्र होइन साँच्चै फिल्म बन्नुपर्छ’, उनले भनिन् ।

 

‘छक्का पञ्जा ३’मा कमेडी र सामाजिक मुद्दा एकसाथ लैजान खोजेको जानकारी दिँदै दीपा श्रीले भनिन्, ‘यो विशुद्ध कमेडी फिल्म मात्र होइन, अरू धेरै कुरा छन् । यसमा हामीले कन्टेन्टमा काम गरेका छौं । यो हामी नेपालीको घरघरको कथा हो । शैक्षिक व्यथितिलाई मुख्य कथावस्तु बनाएका छौं ।’

 

फिल्मका मुख्य कलाकार जितु नेपाल मुन्द्रे र केदार घिमिरे माग्ने बूढाले यसपटक हँसाउनुका साथै सामाजिक चरित्रलाई समेत अँगालेको बताए । यो फिल्मको पहिलो र दोस्रो शृंखलाले सर्वाधिक व्यापार गरेको थियो ।

 

तेस्रो शृंखलाले पनि त्यसको निरन्तरता पाउने विश्वास निर्देशक दीपा श्रीले व्यक्त गरिन् । छक्का पञ्जाको यो शृंखलामा नायिका दीपिका प्रसाईंको भूमिकाले महिलाका मुद्दा उठाएको पनि दीपा श्रीले बताइन् । ‘फिल्मको दीपिकाको भूमिकाले सबै महिलालाई बलियो बनाउने काम गरेको छ’, उनले भनिन् ।

 

फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बूढा’, दीपिका प्रसाई, सन्जोग कोइराला, प्रियंका कार्की, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्