तालिवान वार्ताबारे जानकारी छ : अफगान सरकार



काबुल : अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेष दूत जाल्मे खलिलजादले कतारमा तालिवान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराएकाे जनाएको छ । 

विशेष दूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति अस्रफ घानी र अरु अफगान सरकारी अधिकारीलाई जानकारी गराएकाे जनाइएको छ । राष्ट्रपतिको कार्यालयले तालिवानसँग युद्धविराम गर्ने बारेमा वार्ता केन्द्रित भएको जनाएको छ तर उक्त विषयमा अझै केही प्रगति भएको छैन । 

विशेष दूत खलिलजाद वा अमेरिकी दूतावासले अफगान राष्ट्रपतिको कार्यालयको टिप्पणीप्रति केही उल्लेख गरेको छैन । तालिवानसँगको वार्तामा महत्वपूर्ण प्रगति भएको भनी अमेरिकी विशेष दूतले गत साता बताएका छन् तर राष्ट्रपतिको कार्यालयले उक्त दाबीप्रति सचेततापूर्वक प्रतिक्रिया दिएको छ । 

राष्ट्रपति घानीले अफगान सरकार र तालिवानबीच मध्यस्थता गराउन अमेरिकी विशेष दूतले गरेकाे प्रयत्नप्रति धन्यवाद दिँदै आभार व्यक्त गरेकाे पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ । तालिवानले अफगान सरकारसँग नभई अमेरिकी प्रतिनिधिसँग मात्र वार्ता गर्ने अडान राख्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्