गोरखा दरबारमा पनि राखियो जमरा



आज बडा दशैंको पहिलो दिन गोरखा दरबारमा पनि वैदिक विधिपूर्वक घटस्थापना राखिएको छ । प्रसिद्ध धार्मिक स्थल गोरखा दरवारमा बुधबार बिहान ७ः१५ को साइतमा घटस्थापना गरिएको हो ।

 

जमराका लागि कालिका मन्दिरको जमरा कोठामा चार पाथी र गुरु गोरखनाथको गुफामा एक पाथी जौ को बीज छरेर जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेलले जानकारी दिए । आजको दिन मूल दरबारको कैलाश कोठा हुँदै कालिका मन्दिरको गर्भगृहमा भगवती सवारी गर्ने प्रचलन छ ।

 

‘मूल दरवार पुनर्निर्माणका लागि भत्काइएको हुँदा भगवतीलाई कालिका मन्दिरकै कैलाश कोठामा राखेका थियौं,’ उनले भने, ‘आज विहान त्यहीँबाट गर्भगृहमा सवारी गरायौं ।’ भगवती सवारीको निश्चित साइत नहुने उनले बताए ।

 

‘यसमा साइत हुँदैन, विहान नाडीका सबै रौं देखिने उज्यालो भएपछि सवारी गराउने प्रचलन छ,’ कट्टेलले भने । भगवती सवारीसँगै विहानको उत्तम साइतमा घटस्थापना गरेर पानी घडा थाप्ने काम भएको उनले जानकारी दिए । ‘यो काम पनि मूल दरवारमै गरिन्थ्यो तर अहिले दरवार भत्काइएकाले कालिका मन्दिरमै सबै काम गरियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्