देशभरका कारागारमा भेटघाट बन्द, ५ हजारबढी कैद मिनाहा गर्ने तयारी



काठमाडौं : कोरोनाभाइरस संक्रमलाई नियन्त्रण र रोकथाम गर्न कारागार व्यवस्थापन विभागले थुनावा र बन्दीसँग भेटघाटमा रोक लगाएको छ ।

भाइरसको संक्रमण फैलन नदिन अर्को निर्णय नभएसम्म भेटघाटमा रोक लगाइएको हो ।
विभागका प्रवक्ता देवर्षि सापकोटाले कोरोनाभाइरसको सम्भावित संक्रमणबाट बच्न देशभरका ७२ जटै कारागारमा पत्रचार गरिएको बताए ।

यसअवधिमा कारागारमा खाद्यान्न, दैनिक उपभोग्य वस्तुु आपूर्ति गर्दा र कारागार प्रशासनका कर्मचारी आवतजावत गर्दा विशेष सावधानी अपनाउन समेत आग्रह गरिएको बताएका छन् ।

विभागले सम्भावित संक्रमणलाई फैलिन नदिन कर्मचारी र कैदीबन्दी दुरी कायम राख्न, आवश्यकताबाहेकका वेला कैदीबन्दी रहेको क्षेत्रमा प्रवेश नगर्न, निरन्तर साबुनपानीले हात धुन, सेनिटाइजर तथा मास्कको प्रयोग गर्न र सरसफाइमा विषेश ध्यान दिन पत्रमार्फत आग्रह गरेको छ ।

यसैगरी कारागार व्यवस्था विभागले पाँच हजारभन्दा बढी कैदीबन्दीर्ला रिहा गर्ने तयारी समेत गरेको छ । कारागारमा कैदीको चाप कम गर्न र सम्भावित संक्रमणलाई रोक्न कैदीबन्दीलाई रिहा गर्न गृहकार्य शुरु भएको विभागका प्रवक्ता सापकोटाले जानकारी दिए ।

विभागको अनुरोधमा गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबीच कैद मिनाहा गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार असल चालचलन सुधार भएका, ५० प्रतिशत कैद भुक्तान गरेका, वृद्ध तथा बालबालिकाको बाँकी कैद मिनाहा गर्ने तयारी भइरहेको सापकोटाले बताए ।

हाल मुलुकभर रहेका ७२ वटा कारागारमा २५ हजार ७ सय १ जना कैदीबन्दी छन् । जसमध्ये बालबालिका १२ सयभन्दा बढी छन् । आधा कैद भुक्तान गरेका वृद्ध, महिला गरी पाँच हजारभन्दा बढीलाई बाँकी कैद मिनाहा गर्ने तयारी भइरहेको छ । उद्यपी गम्भीर प्रकृतिको जघन्य अपराध गरेकालाई भने कैद मिनाहा गरिने छैन ।

साथै विभागले ६० बेडको आइसोलेसन वार्ड राख्ने तयारी समेत गरेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाभाइरस अहिले विश्वव्यापी बनिरहेको छ । जसको प्रत्यक्ष प्रभाव नेपालमा समेत देखिएको छ । कोरोना संक्रमण रोक्न सावधानी र फैलिएका खण्डमा उपचार गर्न विशेष किसिमको उपचार कक्ष तयार पारेको विभागले जनाएको छ ।

नख्खु कारागार परिसरभित्र रहेको मनोसामाजिक बन्दी अस्पताललाई आइसोलेसन वार्डको रूपमा विकास गर्ने तयारी भएको छ । अस्पतालमा ६० बेडको आइसोलेसन वार्ड बनाउने काम भइरहेको सापकोटाले बताए ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका १ सय ७६ देशमा फैलिसकेको छ ।

एफपीको तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा भाइरसबाट मर्नेको संख्या बढेर १० हजार नाघेको छ भने दुई लाख ३२ हजार ६५० जना बिरामी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्