नेपाल एयरलाइन्सले बन्द गर्यो भारतका सबै शहर उडान



काठमाडौं : नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान स्थगित गरेको छ ।

नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ अर्थात मार्च २२ गतेदेखि लागू हुने गरी स्थगित गरेको हो ।

यसअघि भारतले २२ तारिखबाट सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय गरेको हो ।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान तत्कालका लागि चैत्र १६ अर्थात मार्च २९ सम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने भएको छ ।

यसैगरी निगमले जापानको नारिता, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, यूएइको दुबई, कतारको दोहामा गर्दै आएको उडान अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्