मुनालाई आत्महत्या दुरूत्साहन गरेको आरोपमा ४ पक्राउ



सल्यान : एक महिलालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले ४ जनालाई पक्राउ गरेको छ ।

चैत ३ गते दिउँसो शारदा नगरपालिका वडा नं.१५ हर्लेका २१ वर्षिय मुना आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।

उनको मृत्युको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओलीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको थियो ।
घटनाको सुक्ष्म अनुसन्धानका क्रममा मुनालाई आत्महत्या गर्न बाध्य पारेको भन्ने खुल्न आएपछि प्रहरीले त्रिबेणी गाउँपालिका वडा नं.६ का २० वर्षिय विजय भण्डारी, २३ वर्षिय लालबहादुर राजगुरु र मृतक मुनाका पति २३ वर्षिय सुनिल नाथलाई पक्राउ गरेको निमित्त प्रमुख ओलीले जानकारी दिए ।

उनका अनुसार भण्डारी र राजगुरुले मृतक मायाको त्रिबेणी ६ का २३ वर्षिय अर्जुन रावतसँग अनैतिकसम्वन्ध भएको आरोप लगाउँदै आएका थिए ।भण्डारी र राजगुरुले पोखरामा काम गर्दै आएका मुनाका पति सुनिलसँग यो कुरा गरेपछि सुनिल चैत २ गते मध्यराति १२ बजे सल्यानस्थित आफ्नो घर पुगे । त्यति बेला नै उनले गाउँमा मुनाले सञ्चालन गर्दै आएको किराना पसलमा आगो लगाइ दिए । पत्नी मुनामाथि हातपात तथा गालिगलौज गरी शारीरिक र मानिसिक यातना दिए ।

चैत ३ गते बिहानैदेखि पति सुनिल र भण्डारी तथा राजगुरुसमेत मिलेर गाउँघरमा मुना र रावतकोबीचमा अनैतिक सम्बन्ध रहेको भन्दै आरोप लगाउन थाले । त्यो आरोप सहन नसकेर मुनाले सोही दिन दिउँसो घरभित्रै झुण्डिएर आत्महत्या गरिन् ।

उक्त ब्यहोरासहित मृतक मुनाका बुवाले किटानी जाहेरी दिएपछि प्रहरीले रावतसहित ४ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ । पक्राउ परेका चारै जना विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसूर अन्तर्गत दफा १८५ बमोजिम आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सल्यान जिल्ला अदालतले पक्राउ परेकाहरुलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्