कोरोना भाइरस : यस्तो छ प्रधानमन्त्री ओलीको अपिल



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत भएर बस्न देशवासीलाई आग्रह गर्दै आतंकित नहुन अपिल गरेका छन् ।

कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो अपिल गरेका हुन् ।

कालोबजारी रोक्न सरकार सक्रिय रहेको बताउँदै उनले सरकारले चैत १० देखि लामोदुरीका बस सेवा केही अवधिका लागि सञ्चालनमा रोक लगाएको बताए । यसैगरी नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी ९ चैत देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

सरकारले आगामी ९ चैत देखि २१ गते सम्म सवै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गरेको छ । प्रधानमन्त्री ओलीले अतिआवश्यक सेवा दिनुपर्ने बाहेकका कार्यालय बन्द गरिएको बताएका छन् ।

‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् ।

सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था सरकारले मिलाएको छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने सरकारले जनाएको छ ।

मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

‘महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ’ ओलीको सम्बोधनमा उल्लेख गरिएको छ ।

यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएको बताए ।
‘सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं’ ओलीले भने ।

देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन मार्फत सरसफाईमा उचित ध्यान दिन, साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्न, भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय गर्न, हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुन, चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्न, धैर्यवान हुन र संयमता अपनाउनका साथै सावधान हुन तर आतङ्कित नहुन अपिल गरेका छन् ।

संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने बताउँदै उनले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

संक्रमणको रोकथाम, नियन्त्रण र उपचारकालागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था सरकारले मिलाएको छ ।

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न सरकारले आग्रह गरेको छ । सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्ने ओलीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् ।

सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजी सहित सबै प्रकारका सवारी साधनहरू आवश्यकता अनुसार संचालन गर्न सकिनेछ ।

निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था सरकारले मिलाएको छ । तर, अप्ठ्यारो समयको फाईदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता अपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिने चेतावनी सरकारले दिएको छ ।

मुलुक बाहिर ठूलो संख्यामा रहेका नेपालीलाई प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीका कारण नआत्तिन र चिन्तित नहुन आग्रह गरेका छन् । साथै उनले आवश्यक पर्दा आपूm रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आव्हान गरेको संयुक्त कोषमा नेपालले १० करोड सहयोग गर्ने घोषणा प्रधानमन्त्री ओलीले गरेका छन् । यस महामारीसंग जुध्न नेपाल छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तर्राष्ट्रिय समुदायसंग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढने प्रतिबद्धता ओलीले व्यक्त गरेका छन् ।

‘मृगौला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा यहाँहरुले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनु भएको मैले सुनेको छु । यस घडीमा मलुकले हामी सबैको दृढ ईच्छाशक्ति र उच्च मनोवलको माग गरेको छ । हाम्रो इच्छाशक्ती, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु’ ओलीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् ।

०७२ सालको विनासकारी भुकम्प र त्यसपछि सिर्जित प्रतिकुलतालाई नेपालीले दृढताका साथ सामना गरेको उल्लेख गर्दै उनले यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढता सहित सबै नेपालीले पूर्ण सहयोग र साथ दिनेमा प्रधानमन्त्रीले ओलीले आशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्