कोरोनाभाइरसका कुनैपनि बिरामी फेलापरेका छैनन् : नर्भिक



काठमाडौं : काठमडौंको थापाथलिस्थित नर्भिक इन्टरनेशन हस्पिटलमा हालसम्म कोरोनाभाइरसका कुनैपनि बिरामी फेला नपरेको बताइएको छ ।

आज (शनिबार) फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड–१९ का बिरामी भेटिएको भन्ने शाब्दिक एवं भाषिक भ्रामक, कपोलकल्पित एवं भुट्टा समाचार प्रकाशित भएको प्रति नर्भिक हस्पिटलले खेद प्रकट गरेको छ ।

नर्भिकका संस्थागत सञ्चार नायक महाप्रबन्धक आर.पी. मौनालीद्वारा जारी विज्ञप्तिमा हालसम्म नर्भिकमा कोरोनाभाइरसका कुनैपनि बिरामी फेला नपरेको बताइएको छ ।

‘हालसम्म नर्भिकमा कोभिड–१९का कुनैपनि बिरामी पत्ता लागेको छैनन्, यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

यसैगरी नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपुरेको जटिल एवं संवेदनशील समस्यामा सबै निकाय एक जुट भइ समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारप्रति खेद प्रकट गरेका छन् ।

साथै उनले यसखाले अपराधपूर्ण अफवाहको कडा निन्दा समेत गरेका छन् ।

कार्यकारी निर्देशक सिंहले यस्ता भ्रामक समाचार फैलाउने कार्य पूर्णतया सामाजिक अपराध हो, निन्ददीय हो र प्रचारक जोसुकै भएपनि कडा सामाजिक कारबाहीको हुनेपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्