कोरोनाबारे गलत सूचना फैलाएको आरोपमा थापा पक्राउ



काठमाडौं : कोरोनाभाइरसबारे गलत सूचना फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनीमाथि अनुसन्धान शुरु भएको प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिएका छन् ।

काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोनाभाइरस देखिएको र नेपालमा फैलिइसकेको भन्दै फेसबुक म्यासेन्जरमा सन्देश पठाएको सम्बन्धमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालिएको थालेको थियो । योसँगै सामाजिक सञ्जालमा कोरोनाबारे गलत सूचना दिनेमाथि प्रहरीले निगरानी बढाएको छ ।

प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले केही फेसबुक पेज र फेसबुक गु्रपमासमेत भ्रम फैलाउने सूचना सम्प्रेषणका सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २ मा ‘सार्वजनिक शान्तिविरुद्धका कसूर’ मा भएको प्रावधानले झुट्ठा अफबाह फैलाउन नहुने उल्लेख गरेको छ ।

परिच्छेदमा भनिएको छ, ‘कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्