कोरोनाबारे फेसबुकमा अफवाह ! कसरी जोगिने ?


काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विश्वभर फैलिसकेको छ। शुक्रबार प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय सुनाए। प्रधानमन्त्रीको सम्बोधनपछि अन्तर्राष्ट्रिय उडान शनिबारदेखि बन्द भएका छन् भने लामो दूरीका सवारीसाधन आइतबारदेखि बन्द हुँदैछन्। 

अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द हुँदा सामाजिक सञ्जालमा भने कोरोना भाइरस संक्रमण र यसबाट विभिन्न अस्पतालमा नेपालीको मृत्यु भएका गलत सूचना (अडियो र भिडियो) भाइरल भएका छन्। 

अफवाह-१ !
‘अँ हिमाल, तिमीलाई एउटा एकदम इम्पोर्टेन्ट कुरा सुनाउन फोन गरेको है…!’यही आवाजबाट फेसबुक म्यासेन्जरमा गलत सूचना फैलाउने विवेक थापा पक्राउ परिसकेका छन्। 

उनले नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ बिरामीमा कोरोना देखिएको र नेपालमा कोरोना फैलिसकेको गलत सूचना फैलाएका छन्। उनले गलत सूचना लुकाएर यो ‘फेक’नभएको दुई पटकसम्म बताएका छन्। गलत सूचना दिँदा उनले नर्भिक अस्पताल पुल्चोकमा भएको भनेका छन्। 

नर्भिक अस्पताल पुगेका र यसको बारेमा सुनेकाले यो गलत सन्देश भन्ने सहजै थाहा पाउँछन्, किनकी नर्भिक अस्पताल थापाथलीमा छ। घर नजिकै बस्ने स्टाफको हवाला दिएर उनले सर्वसाधारणलाई झुक्याउने प्रयास गरेका छन्। अझ उनले टिचिङमा पनि केही मान्छेलाई कोरोना लागेर मरेर जलाउन लगेको जस्तो गलत सूचना फैलाएका छन्। 

यो गलत हल्ला फैलाउने रामेछाप घर भइ हाल भक्तपुर सिपाडोल बस्ने थापालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। प्रहरी प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीका अनुसार उनीमाथि अनुसन्धान सुरु भइसकेको छ। 

कोरोना भाइरस विश्वव्यापी समस्याको रुपमा फैलिएको छ। यस्तो भाइरस संक्रमण भएको कुरा अस्पतालले लुकाउनै सक्दैन। सूचना र प्रविधिको युगमा अस्पतालको लुकाउने प्रयास कसरी गर्ला ? यो असम्भव लाग्छ। अझ कोरोना संक्रमण लुकाएर लुक्ने खालको पनि छैन। किनकी पूरा तीन महिनाको अवधिमा यो विश्वका १९९ देशमा पुगिसकेको छ।  

सरकारले यो विश्वव्यापी संकटसँग जुद्न आम नागरिकलाई आह्वान गरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता हल्लाका पछाडि लाग्ने र साथीलाई यस्तो म्यासेज सेयर नगर्नुहोस्। सकेसम्म घरमै बसेर आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुहोस्। 

अफवाह-२ !
‘आज विशेष सैन्य हेलिकप्टरहरुले देशभरी आकाशमा कोरोना भाइरसविरुद्ध किटनाशक औषधि छर्कन्छन्..’ २९ सेकेन्डको अर्को एक अडियो यसरी सुरु हुन्छ। समाचारकै शैलीमा वाचन गरिएको यो अडियोमा रातको समयमा सैन्य हेलिकप्टरले किटनाशक औषधि छर्कने हवला दिइएको छ।  रातको समयमा हेलिकप्टरको आवाज सुन्दा औषधि छर्किन लागेको थाहा पाउन आग्रह गरिएको छ। अडियोमा रातको समयमा घर बाहिर नबस्नसमेत भनिएको छ। यो सम्पूर्ण जानकारी गलत हो।
 
यही गलत सन्देश पुरुष आवाजमा मधेसी मुलको लवजमासमेत रेकर्ड भएको छ। ‘हेलो..जतिजना पनि यो म्यासेज सुन्नु हुन्छ भने कृपया विचार गरेर आफ्नो झ्याल ढोका जतिहरु छ नि त्यो सप्पै कृपया लगाइहाल्नुहोला..’ भनेर यो अडियो सुरु भएको छ। राति १२ बजे तिर हेलिकप्टरबाट एन्टिडोर भन्ने औषधि छर्किने कुरा यसमा बताइएको छ। त्यो औषधि छर्किदासबै झ्याल र ढोका बन्द गरेर सुत्न आग्रह गरिएको छ।  सन्देशमा अरुलाई पनि म्यासेज सेयर गर्न भनिएको छ। 

हिन्दीको गलत सन्देश नेपालीमा  
गलत सन्देशसमेत हिन्दी भाषाबाट नेपालीमा उल्था गरेर भाइरल बनाएको खुलेको छ। यो हेलिकप्टरबाट औषधि छर्कने गलत सन्देश भारतमा ह्वाट्स एपमा फैलिएको र त्यसलाई नेपालमा भने फेसबुकमा भाइल बनाएको देखिन्छ। 

अफवाह-३ ! 
‘म र मेरो आमा टेकु अस्पताल आएको छौँ। मेरो खुट्टामा कुकुरले टोकेको भएर त्यो घाउँ बल्झिन लागेको भएर म यहाँ डा. अजय पराजुलीलाई भेट्न आएको हुँ…’ टिकटकमा बनाइएको अर्को एक गलत भिडियो सन्देश यसरी सुरु हुन्छ। 

उनले आफू कुकुरले टोकेको घाउको उपचारका लागि अस्पताल गएको र त्यहाँ पाँच मानव शरीर प्लास्टिकमा बेरेको देखेको, नर्सलाई सोध्दा थर्काएको र सुरक्षागार्डलाई सोधेर १७ शरीर कोरोना लागेर पशुपतिमा लगेर जलाएको जानकारी गराएको गलत सूचना बाँडेका छन्। यो भिडियो नयनराज पाण्डेको नाममा अपलोड भएको देखिन्छ। 
उनले यो सन्देश फेसबुकमा पढेको र सबैलाई फैलाउन आग्रह गरेका छन्। योसमेत गलत भिडियो सन्देश हो। प्रहरी प्रवक्ता क्षेत्रीका अनुसार यो भिडियो मार्फत् गलत सूचना दिने व्यक्तिले जुन डाक्टरको नाम लिएका छन् ति डाक्टरसमेत टेकु अस्पतालमा कार्यरत छैनन्। यो भिडियो अमेरिकाबाट अपलोड भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। थप विषय अनुसन्धान भइरहेको क्षेत्रीको भनाइ छ। 

नर्भिकको विज्ञप्ति 
एउटा गलत सन्देश सामाजिक सञ्जालमा भाइरल हुँदा नर्भिक इन्टरनेशनल अस्पताल विज्ञप्ति निकाल्न बाध्य भएको छ। अडियो भाइरल भएपछि ‘नर्भिकमा हालसम्म कोरोना भाइरसका कुनै पनि बिरामी फेला परेका छैनन्’ भनेर नर्भिकले विज्ञप्ति सार्वजनिक गरेको हो।

शनिबार नर्भिकका नायव महाप्रबन्धक आर.पी मैनालीले विज्ञप्ति सार्वजनिक गर्दै नर्भिकमा कोरोनाका बिरामी भेटिएको भन्ने भ्रामक समाचारले आश्चर्य चकित भएको बताएका हुन्। ‘आज मिति २०७६/१२/८ गते शनिबार बिहानैदेखि नै फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड-१९  का बिरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोकल्पित एवम् झुट्टा समाचार  प्रकाशित भएको पाउँदा नर्भिक इन्टरनेशनल हस्पताल परिवार आश्चर्य चकित भएको छ।’ 

गलत सूचनाबाट कसरी बच्ने ? 
भिडभाडबाट टाढै बसेर, साबुन पानीले बारम्बार हात धोएर, समयसमयमा स्यानिटाइजर प्रयोग गरेर, संक्रमित बिरामीलाई भेट्दा वा हेरचाह गर्दा मास्क र पञ्जा लगाएर कोरोना संक्रमणबाट बच्न सकिन्छ। तर, सामाजिक सञ्जामा फैलिएका यस्ता अफवाहबाट बच्ने ठ्याक्कै उपाय छैन। तर, गलत सन्देशबाट बच्न तपाईं सचेत भए मात्र पुग्छ। 

यस्ता गलत सन्देश कसैले तपाईंको म्यासेन्जरमा पठाए त्यसलाई अन्य साथीसमक्ष फरवार्ड नगर्नुहोस्। यस्ता सन्देशमाथि लाइक र कमेन्ट पनि नगर्नुहोस्। अझ यस्ता सन्देश सेयर त गर्दै नगर्नुहोस्। यस्ता कुरालाई तपाईंले लाइक, कमेन्टसँगै सेयर गर्नु भयो भने गलत कुरा अझ फैलिन्छ। कसैले केही भन्दैमा त्यो सत्य हुँदैन। केही कुरा सुनिसकेपछि तपाईं विश्वासिलो स्रोत खोज्नुहोस्। 

नेपालको मुलुकी अपराधसंहिता, २०७४ मा झुटा अफवाह फैलाए एक वर्षसम्म कैदको सजाय हुने उल्लेख छ। 

अफवाह फैलाउनेलाई के कारबाही हुन्छ ? 
समाजलाई त्रसित पार्ने मनसायबाट यस्ता अडियो र भिडियो बनेका देखिन्छन्।  फेसबुकमा धेरै लाइक, कमेन्ट र सेयरको लोभलेसमेत कतिपयले यस्तो गरेको देखिन्छ। यस्तो हल्लाले समाज आतंकित हुन्छ तर ठूलो फाइदा कसैलाई छैन। अरुलाई आतंकित बनाएर रमाउन चाहनेहरुले यस्तो गरेका हुन सक्छन्। यस्ता सन्देशका पछाडि दौडिनेकाम नगर्नुहोस्। 

प्रहरीले चाहेमा यस्तो अडियो र भिडियो सामाजिक सञ्जालमा अपलोड गर्नेलाई कारबाही गर्न सक्छ। नेपालको मुलुकी अपराधसंहिता, २०७४ मा झुटा अफवाह फैलाए एक वर्षसम्म कैदको सजाय हुने उल्लेख छ। 

अपराध संहिताको दफा ७० को उपदफा (१) र (२) मा अफवाह फैलाउनेलाई कारबाही हुने व्यवस्था छ। संहिताको दफा ७० को उपदफा (१) मा कसैले सार्वजनिक शान्ति भंग गर्ने, हुलदंगा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायिबीचको समुधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए र नगरेको अफवाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन भनेर उल्लेख गरिएको छ। त्यसैगरी दफा ७० को (२) मा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश लुइटेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।भारतबाट नेपाल आउने

काठमाडौं : आज थप १७० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८

दार्चुला : दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा

काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको संख्या बढ्दै गइरहेको छ । तर, उपत्यकामै

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ

काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा