घरको जिम्मेवारी महिलाकै काँधमा



काठमाडाैं : सदरमुकाम मङ्गलसेन बजारको एक छेउमा रहेको सानो घरको आँगनमा झुप्री विक बञ्चरोले मुढा चिर्दै थिइन् । खाना पकाउने दाउरा बाल्न चिर्दै गरेको मुढा पनि उनले आफैँ जङ्गलबाट ल्याएकी हुन्। यो घरमा ३३ वर्षीया विक बूढीसासू आमाको स्याहारको समेत जिम्मेवारी लिएर बस्दै छिन्।

श्रीमान् रोजगारीको खोजीमा भारत गएपछि घरको सम्पूर्ण काम विकको थाप्लोमा छ । विकले दाउरा बोक्ने, चिर्ने, भारी बोक्ने, बारी खन्ने सबै काम आफैँ गर्छु । घरमा पकाउने, खुवाउने, सरसफाइ गर्ने काम आफ्नै हो आफ्नो दैनिक कामको बेलिविस्तार लगाइन् ।

भारत गएका श्रीमान्को कमाइले मात्र घर नधानेपछि कहिलेकाहीँ उनी मजदुरी पनि गर्छिन् । उनले आफ्नो बारीको खेतीले खान पुग्दैन । उताबाट पठाए खाने हो । कहिलेकाहीँ पठाउँछन् । उता कति कमाइ हुन्छ थाहा छैन भनिन्।

अछामकै विरालतोलीकी २५ वर्षीया देवकला नेपालीका पनि श्रीमान् घरमा छैनन् । मजदुरी गर्न उहाँका श्रीमान् तीन वर्षदेखि भारतमा छन् । आधा घण्टाको पैदल दूरीमा रहेको धाराबाट पानी ओसार्नेदेखि खेतीपातीको सम्पूर्ण व्यवस्थापन उनकै जिम्मेवारी हो । मेरा तीन सन्तान छन् । उनीहरूलाई खुवाउने पिलाउन साह्रै दुःख छ भनेर दुखेसो पोखिन् ।

उमेर पुगेका पुरुष सदस्य कमाउन भारत जाने सुदूरपश्चिमको आम चलन रहँदै आएको छ । कोही नियमित केही मौसमी रोजगारीका लागि पुरुष भारत जाँदा नेपालको घर सम्हाल्ने सम्पूर्ण जिम्मेवारी महिलाले काँधमा लिँदै आएका छन् ।

घरमा बूढाबूढी र केटाकेटीको हेरचाह गर्ने जिम्मेवारी महिलाको मात्र हुँदै आएको छ । मङ्गलसेन नगरपालिका–३ का वडाध्यक्ष पदमबहादुर भाटले खेतीपातीको काम र मजदुरी गर्दा बालबालिकालाई हेरचाह पुग्दैन । काम नगरे खुवाउन पनि धौ–धौ हुने भएकाले बालबालिकामा कुपोषण देखिन्छ भने।

श्रम गर्न सक्ने पुरुष जति विदेश जाँदा महिलालाई थेग्नै नसक्ने भूमिकाको भार पर्दै आएको उहाँको भनाइ छ । गर्भवती, सुत्केरी, बिरामी अवस्थामा समेत महिलालाई सघाउने पुरुष नहुँदा महिला स्वास्थ्यमा कमजोर रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

सुदूरपश्चिमका पहाडी गाउँबस्तीका घरमा महिला, केटाकेटी र ज्येष्ठ नागरिक बाहेक पुरुष कमै देख्न पाइन्छ । मजदुरीका लागि सजिलो गन्तव्य भारतका विभिन्न सहर तथा गाउँ भएका कारण कोही भारत नगएको कुनै घर नै भेटिन मुस्किल हुने जनप्रतिनिधि बताउँछन् । यसरी भारत गएका पुरुषका घर भने आमा र श्रीमतीले धान्दै आएका छन् ।

जनप्रतिनिधिका अनुसार नेपालको श्रमशक्ति भारतमा जाँदा यहाँको विकास निर्माणको काममा कहिलेकाहीँ मजदुरको अभाव हुने गरेको छ ।

निर्वाचित स्थानीय सरकार आएपछि विकास निर्माणको काम धमाधम भएको देख्न सकिन्छ । ती विकास निर्माणको काममा श्रम गरिरहेका मजदुर पनि महिला धेरै रहेको स्थानीय अगुवा बताउँछन् ।

मङ्गलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले काम गर्ने पुरुष भारत गएपछि घर मात्र होइन, सडक बनाउने कामसमेत महिलाले धानेको देखिन्छ भनिन् । महिलाको काँधमा जिम्मेवारी धेरै भए पनि महिलाले मजदुरी मार्फत जीविकोपार्जनको अवसर पाएको उनी बताउँछन् । वर्षभर घरको खेतीपाती गर्ने, गाईबस्तु पाल्ने, केटाकेटीको हेरचाह गर्ने काम महिलाले गर्दै आएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्