प्रतिबन्ध लगाइएको मुलुकबाट सिल्क एयरको विमान यात्रु बोकेर आएपछि…



काठमाडौं : शनिबार राति सिंगापुरबाट यात्रु लिएर नेपाल आएको सिल्क एयरको विमानलाई आकाशबाटै फिर्ता हुन भनिएको थियो । तर, अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।

शनिबार राति ८ः४० बजे विमानस्थलमा अवतरण गरेको सिल्क एयरको एमआई–४१६ विमानले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाइएका मुलुकका केही नागरिक लिएर आएपछि यात्रुलाई राति विमानबाट बाहिर आउन दिइएको थिएन । तर, यात्रुहरुको चर्को नारावाजी गर्न शुरु गरेपछि करिब साढे तीन घण्टापछि मध्याह्न १२ बजेछि विमानस्थल प्रशासनले यात्रुहरुलाई ओरार्ने निर्णय गरेको थियो ।

करिब दुई सय यात्रु बोकेर आएको उक्त विमानलाई शुरुमा आकाशबाटै सिंगापुर फिर्ता हुन भनिएपनि इन्धन भर्नुपर्ने भन्दै विमान अवतरण गरेको थियो ।

उक्त विमानमा प्रतिबन्धित मुलुकका विदेशी पनि धेरैजसो नेपाली मुलकै व्यक्ति थिए ।

विमानबाट ओर्लिएका यात्रुहरुको राति नै स्वास्थ्य परीक्षण गरिएको र त्यसमध्ये तीन जनालाई मात्र क्वारेन्टाइनमा पठाइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । बाँकी सबैलाई आ–आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ माबस्न भनिएको विमानस्थल सुरक्षामा खटिएका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार कुनै देशमा अवतरण गरिसकेको जहाजलाई यात्रुसहित फिर्ता पठाउन मिल्दैन । यही नियमअनुसार विमानलाई अवतरण हुन दिइएको नागरिक उड्डयन प्राधिकरण सम्बद्व कर्मचारीको दाबी छ ।

नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगन गरेको छ भने शुक्रबारदेखि युरोप, खाडीलगायतका मुलुकबाट आगमनमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्