बस दुर्घटनामा एकको मृत्यु



दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुग्लिङदेखि पोखरातर्फ आउँदै गरेको ग१ख ४९०० नं को बस सडकमा पल्टिँदा च्यापिएर ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । “अगाडिको सिटमा बसेकी युवती झ्यालको शिशा फुटेर बसबाट खसेको र सोही बसले च्यापिएर मृत्यु भएको रहेछ”, उनले भने ।

दुर्घटनामा बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र एक जनालाई काठमाडौँ पठाइएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्