शक्तिशाली आँधीमा तीन जनाको मृत्यु



एजेन्सी :  क्युवाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १७२ जना घाइते भएका राष्ट्रपति मिगुएल दायज क्यानेलले सोमबार बताएका छन ।

क्यानेलले ट्वीटरमा लेखेका छन, ‘आइतबार राति हवानाको रेग्ला नगरमा आएको आँधीका कारण निकै धेरै क्षति पुगेको छ । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १७२ जना घाइते भएका छन् । घटनास्थलमा सयौँको सङ्ख्यामा सुरक्षाकर्मी उद्धारका लागि खटिरहेका छन् ।’

आँधीका कारण हवानाका कयौं नगरहरूमा विद्युत आपूर्ति अवरूद्ध भएको छ भने कयौं भौतिक संरचनामा क्षति पुगेका हवानाबाट प्राप्त समाचारमा जनाइएको छ ।

भारी बर्षासँगै प्रतिघण्टा सय किलोमिटरको गतिमा आँधी आएको स्थानीय मौसम विज्ञान कार्यालयले जनाएको छ ।

क्युवामा आँधीबाट हरेक बर्ष दर्जनौंको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । सन् १९४० को डिसेम्बरमा पश्चिमी शहर वेजुकालमा आएको आँधीलाई क्युवाको इतिहासमा सबैभन्दा प्रलयकारी मानिने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्