कोरोनाभाइरस संक्रमण : के गर्दै छन् नेताहरु ?



काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बच्न सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन अपिल गरेसँगै राजनीतिक दलका गतिविधि शून्य भएको छ ।

सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ । अत्याधिक भीड हुने सभा, सम्मेलन, बैठकलगायतका कार्यक्रम नगर्न सरकारले रोक लगाएको छ । सरकारले रोक लगाएपछि राजनीतिक दलका पूर्व निर्धारित कार्यक्रमहरु पनि स्थगित गरिएको छ ।

सधै कार्यक्रम, भेटघाट लगायतका काममा व्यस्त रहने राजनीतिक दलका नेता अहिले फुर्सतिला भएका छन् । आफू आबद्ध पार्टीको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएपछि उनीहरु घरमै बस्ने, टिभी हेर्ने, पत्रपत्रिका पढने, अनलाईन हेर्ने पढने लगायतका काममा व्यस्त छन् ।

घरपरिवारका सदस्यलाई प्रायः थोरै समय दिने राजनीतिक दलका नेताहरु अहिले फुलटाईम आफ्ना घरमै बिताउँदै छन् । घरपरिवारका सदस्यसँग दिनचर्या बिताउँदै उनीहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै कोरोनाभाइरसको संक्रमणबाट जोगिन जनचेतना मुलक सन्देशहरु प्रवाह समेत गरिहेका छन् ।

कतिपय नेताहरु आफ्नो निजनिवासमै भिडभाड नहुने गरी भेटघाटका साथै अत्यावश्यक कामहरु गरिरहेका छन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने भएकाले कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि सर्वसधारण जस्तै राजनीतिक दलका नेताले समेत सावधानि अपनाएका छन् ।

नेकपाः देशैभरी पार्टी सदस्यलाई स्वयमसेवकका रुपमा परिचालन गर्ने तयारीमा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि देशैभरी त्यसको सन्देश दिन तथा सरकारले गरेका कामको प्रचार गर्ने उद्देश्यले नेकपाले ठूला सभा, भेला गर्ने कार्यक्रम बनाएको थियो ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टीले निर्णय गरेका विभिन्न पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको बताए । सरकारले कोरोनाभाइरसको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले कार्यक्रम गर्नमा रोक लगाएपछि पार्टीले पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको उनले बताए ।

‘सरकारले कोरोनाभाइरसको संक्रमण नफैलियोस भन्ने उद्देश्यले ठूला कार्यक्रम गर्नमा रोक लगाएपछि नेकपाले पनि आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ’ स्थायी कमिटी सदस्य साहले भने, ‘पार्टीले आफ्ना सदस्यलाई स्वयंमसेवकको रुपमा परिचालन गर्ने तयारी गरेको छ, देशैभरी जनचेतना जागाउँने तथा महामारीबाट बच्नका लागि यस्तो गर्न लागेको हो ।’
शक्तिशालीलाई मुलुकलाई संक्रमणबाट बच्न कठिन भइरहेको बताउँदै नेता साहले रोबट जस्ता प्रविधिको उच्च प्रयोग कसरी गर्ने र कसरी बच्ने लगायतका बारेमा नेपाल सरकारले तयारी गर्नुपर्ने सुझाव दिए ।

नाकाबन्दीबाट पाठ सिकेको नेपालले महामारीबाट कसरी बच्ने भन्ने ज्ञान भएकै हुनुपर्ने बताउँदै उनले गरिब, कमजोर जसको आम्दानीको स्रोत नै छैन त्यस्ता दैनिक ज्यालादारीमा गुजारा गर्नेलाई सरकारले राहतको बिशेष प्याकेज सहित सुविधा दिन घोषणा गर्नुपर्ने बताए ।

आवश्यक वस्तुको आपूर्तिका साथै अहिले पानी, साबुन, सेनिटाईजर लगायतका वस्तु सरकारले निःशुल्क वितरण गर्नुपर्ने आवश्यक रहेको साहले बताए । कतिपय गरिब तथा कमजोर नागरिक जसलाई खान, लाउन नै समस्या छ त्यस्तालाई केन्द्रमा राखी बिशेष योजनासहित सरकारले काम गर्नुपर्ने सुझाव उनले दिए ।

कांग्रेस : चिकित्सकको सल्लाह कार्यान्वयन गर्नु
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि चिकित्सकको सल्लाह कार्यान्वयन गर्न सुझाव दिएको छ ।

कांग्रेस उपसभापति बिमलेन्द्र निधिले अहिलेको अवस्थामा प्रत्येक नागरिकले चिकित्सकको सल्लाह कार्यान्वयन गर्नुपर्ने सुझाव दिए । सरकारले गरेको अपिलमा कांग्रेसको समर्थन रहेको बताउँदै उनले संक्रमणबाट जोगिनका लागि सरकारले अझै प्रभावकारी काम गर्नुपर्ने उनले बताए ।

‘कांग्रेसले आफ्ना पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिसकेको छ’ उपसभापति निधिले भने, ‘कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि कांग्रेसले सामाजिक सञ्जालको सदुपयोग गर्दै जनचेतना मुलक सूचना प्रवाह गर्नुका साथै चिकित्सको सुझाव कार्यान्वयन गर्नुपर्ने आग्रह गर्छ ।’

विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, चिकित्सक लगायतको सल्लाह कार्यान्वयन गर्नु नै अहिलेको आवश्यकता रहेको बताउँदै उनले भेटघाट कार्यक्रम समेत बन्द गरिएको बताए । भिडभाड नहुने गरी अत्यावश्यक बाहेकका भेटघाट बन्द गरिएको निधिले बताए ।

आफू घरमै बसिरहेको बताउँदै निधिले साबुन, पानीले हात धुनका साथै सेनिटाईजरको प्रयोग गर्न सुझाव दिए । कोरोनाभाइरसको संक्रमणको महामारीबाट जोगिनका लागि सबै नेपाली सचेत भएर खानपिन, सरसफाई लगायतका दैनिक काममा समेत गम्भीर भएर ध्यान दिन आवश्यक रहेको निधिले बताए ।

कांग्रेसले सदस्यता वितरण, नविकरण, भेला, बैठक, सम्मेलन लगायतका कार्यक्रम स्थगित गरिसकेको छ । कोरोना भाईरसको संक्रमणबाट जोगिन कार्यक्रमहरु स्थगित भएको कांग्रेसले जनाएको छ ।

समाजवादी : ठूला कार्यक्रम स्थगित, साना जारी
प्रतिपक्षी समाजवादी पार्टीले आफ्ना ठूला कार्यक्रम स्थगित गरेको छ भने साना कार्यक्रमलाई जारी नै राखेको छ । कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले अत्यावश्यक बाहेकका सेवासहित राजनीतिक दलका कार्यक्रम स्थगित गर्न निर्णय गरे पनि समाजवादीले पूर्ण रुपमा कार्यान्वयन गरेको छैन ।

सरकारको निर्णयलाई चुनौति दिँदै समाजवादीले आफ्नो बिसु अभियानलाई जारी राखेको छ । समाजवादी पार्टीको बिसु अभियान हिजो (शनिबार) सिरहाको लहानमा सयौंको सहभागितामा भएको छ । सरकारले २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला नहुन आग्रह गरेपनि समाजवादीले सरकारको आग्रहलाई बेवास्ता गर्दै सयौंजनाको उपस्थितीमा आफ्नो संगठन सुदृढिकरण अभियानमा लागेको देखिएको छ ।

समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारको अपिललाई स्वीकार्य गरिएको र त्यसलाई कार्यान्वयन गर्ने क्रममा ठूला कार्यक्रम पार्टीले स्थगित गरेको बताउँछन् । भेला, बैठक, सम्मेलन लगायतका ठूला कार्यक्रम स्थगित गरिएको बताउँदै उनले साना कार्यक्रम मात्रै भइरहेको बताए ।

‘हामीले बढी व्यक्ती सहभागि हुने कार्यक्रमहरु स्थगित गरेका छौं’ सहअध्यक्ष श्रेष्ठले भने, ‘साना–साना कार्यक्रम मात्रै गरिरहेका छौं, भेटघाट, बैठक, पार्टी समायोजन लगायतका काम जारी नै रहेको छ ।’

सरकारले २५ जनाभन्दा बढी व्यक्ति सहभागि हुने कार्यक्रममा रोक लगाएको बताउँदै उनले सोभन्दा थोरै मान्छे सहभागि हुने कार्यक्रम जारी नै राखिएको बताए । सरकारँग सहकार्य गरेर अगाडी बढन सबै तहका कमिटीलाई निर्देशन दिइएको श्रेष्ठले बताए । पार्टीका सबै सदस्यहरु सरकारले गर्ने कार्यक्रममा आ–आफ्नो ठाउँमा सहभागि हुने र सहयोग गर्ने गरी निर्देशन दिइएको उनले बताए ।

राजपाः घरमै बस्न सुझाव

प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सबै नेपालीलाई घरमै बस्न सुझाव दिएको छ । कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले गरेको अपिल कार्यान्वयन गर्न राजपाले आग्रह गरेको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका पुर्व संयोजक राजेन्द्र महताले पार्टीले गर्ने भनिएको पुर्व निर्धारित कार्यक्रम स्थगित गरिएको बताए । कोरोनाभाइरसको महामारीबाट जोगिनका लागि सरकारले गरेको अपिल कार्यान्वयन गर्दै सुरक्षित तरिकाले घरमै बस्नु पर्ने सुझाव उनले दिए ।

‘भेटघाट मात्रै होइन्, ठूला कार्यक्रम समेत स्थगित गरेका छौं’ राजपा नेता महतोले भने, ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि सबै सचेत हुन आवश्यक छ ।’

घरमै बस्नुपर्ने, साबुन पानीले हात धुनुपर्ने, सेनिटाईजरको प्रयोग गर्नु लगायतका काम गर्नुपर्ने सुझाव महतोले दिए । एक व्यक्तीबाट अर्को व्यक्तिमा सर्ने भएकाले सरकार, विश्व स्वास्थ्य संगठन, चिकित्सक लगायतका सुझाव कार्यान्वयन गर्नुपर्ने अपिल महतोले गरेका छन् ।

यस्तो छ सरकारको अपिल

उपप्रधान एवं रक्षा मन्त्री तथा कोरोनाभाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा गत बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा बढी मन्छे सहभागि हुने कार्यक्रममा सहभागि नहुन सार्वजनिक रुपमा अपिल गर्यो ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसबाट जोगिन हामीले सबैमा यस्तो अपिल गरेका छौं’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘यदी कोहीकसैमा संक्रणम देखिएमा स्वास्थ्य मन्त्रालयले तोकेको अस्पतालमा उपचार गराउँने व्यवस्था सरकारको गरेको छ ।’

समितिले अत्यावश्यक कामबाहेक आवतजावत तथा हिडडुल नगर्न आग्रह गर्दै पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, गिर्जाघर जस्ता सांस्कृतिक, सामाजिक र धार्मिकस्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस रोकथामका लागि चलचित्रघर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, संग्रालय, स्विमिङपुल, चलचित्रहल, डान्सबार तथा क्लबलाई समितिले १८ वैशाखसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने भएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेक सार्वजनिक, सामुदायिक र निजि कार्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमणबाट जोगिन सचेत भएर बस्न देशवासीलाई आग्रह गर्दै आतंकित नहुन अपिल समेत गरे ।

कालोबजारी रोक्न सरकार सक्रिय रहेको बताउँदै उनले सरकारले १० चैतदेखि लामोदुरीका बस सेवा केही अवधिका लागि सञ्चालनमा रोक लगाएको बताए । यसैगरी नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी ९ चैत देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

सरकारले आगामी ९ चैतदेखि २१ गतेसम्म सवै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गरेको छ । प्रधानमन्त्री ओलीले अतिआवश्यक सेवा दिनुपर्ने बाहेकका कार्यालय बन्द गरिएको बताएका छन् ।

‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् ।

सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था सरकारले मिलाएको छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने सरकारले जनाएको छ ।

मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

‘महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ’ ओलीको सम्बोधनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्