भारतको ‘जनता कफ्यू’ को असर नेपालमा



वीरगन्ज : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन भारत सरकारले लगाएको एकदिने ‘जनता कफ्यू’को असर नेपालमा समेत देखा परेको छ ।

कोरोना भाइरस फैलिन नदिन भारत सरकारले आइतबार आफ्नो देशमा ‘जनता कफ्यू’ लगाएपछि भारत नेपालको रक्सौल वीरगन्ज नाका पूर्ण रुपमा बन्द हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो ।

भारतमा तीब्र गतिमा बढ्दै गइरहेको कोरोना भाईरसको नियन्त्रण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भारतमा ‘जनता कफ्यू’ लगाइएको हो । बिहान ७ देखि राती ९ बजेसम्म घर बाहिर ननिस्कन त्यहाँको सरकारले जनतामा अपिल गर्दै ‘जनता कफ्यू’ लाई सफल बनाउँन आग्रह समेत गरेको छ ।

कफ्यूका कारण सिमावर्ती शहर भारतको रक्सौल नाका पूर्ण रुपमा बन्द हुँदा त्यसको प्रत्यक्ष असर नेपालको मुख्य नाका वीरगन्जमा पनि परेको हो । वीररगन्ज नाका बिहान देखि पूर्ण रुपमा ठप्प रहेको छ । दैनिक करोडोको कारोबार हुने वीरगन्ज भंसार कार्यालयको मुख्य गेटमा ताल्चा झुन्डयाईएको छ ।

वीरगन्जबाट भारतको रक्सौल जाने पैदल यात्री र सवारीसाधानलाई भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा रहेको मितेरीपुलबाटै फर्काइ दिने गरेका छन् । रक्सौलबाट फाट्टफुट्ट संख्यामा नेपालतर्फ आउने खोज्ने भारतीयलाई पनि भारतीय सुरक्षाकर्मीले मितेरीपुलमै रोकीरहेका छन् ।

नाका बन्द हुँदा वीरगन्जको अधिकांश सडक सुनसान देखिएको छ । सवारीसाधन नचल्दा बाईपास, ईनरवाईपास र दोश्रो बाईपास सडक सुनसान छ । यात्रुहरु नहुँदा बसपार्क समेत सुन्य छ । दैनिक सयौ गाडीहरु वीरगन्जबाट छुट्ने गरेको थियो तर यात्रु नहुँदा अहिले यहाँ बिहान देखि सुनसान बनेको छ ।

दिनहुँ १० हजार भन्दा बढी मानिस र करिब २ हजार भन्दा बढी सवारीसाधन आउजाउ हुने वीरगन्ज नाका बिहान ५ बजे देखि नै सुनसान भएको हो । बिहानैदेखि रक्सौल वीरगन्ज नाकाहुँदै भारतबाट एउटा पनि मालवाहक सवारीसाधन नेपाल नभित्रिएको वीरगन्ज भन्सारमा खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताए ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले पनि आइतबार बिहानदेखि रक्सौल तर्फबाट वीरगन्ज भन्सार नाका हुँदै कुनै पनि मालवाहक गाडी नभित्रिएको जानकारी दिए । नाका ठप्प भएपछि कोरोना भाइरसको संक्रमण लक्षित गरी वीरगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा पनि अरु दिनको जस्तो चाप छैन ।

रक्सौलको मुख्य नाका बन्द रहेका कारण छेउछाउको अन्य बाटो भएर पैदल र साइकलमा आउनेलाइ हेल्थ डेस्कका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तापक्रम नापेर वीरगन्ज प्रवेश गर्न दिएका छन् । दैनिक हजारौं संख्यामा ओहोर दोहोर गर्ने नाकामा अहिले कफ्यूका कारण ६ सय जना मात्र भारतबाट नेपाल प्रवेश गरेको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जनता कफ्यू’ लगाउने घोषणा गरेका । ‘जनता कफ्यू’ को क्रममा आफूलाई आफ्नै घरमा सुरक्षित तरिकाले राख्न र मुलुकमा संक्रमण फैलन निदन आग्रह गरिएको छ । यस्तै आजबाट भारतका अत्यावश्यक बाहेकका सेवापनि बन्द गरिनेछ ।

कोरोनाको त्रासले जिल्लामा कडाई
कोरोना भाईरसलाई मध्यनजर गर्दै सिमा नाकामा व्यापक सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । आइतबारदेखि बारा, पर्साका सबै छोटी भन्सार शिल्ड गरिएको छ । आज बिहानै देखि छोटी भन्सारहरुमा भारती तथा नेपाली सुरक्षाकर्मीहरु तैनाथ गरी आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ ।

बारा र पर्साका नाकाहरु आवतजावत बन्द गरि वीरगन्जका मुख्य नाका मात्र खुल्ला गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

नेपाल भारत सिमाको शंकराचार्य गेटमा हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मीले नेपाल प्रवेश गर्ने भारत लगायत तेश्रो मुलुकका विदेशीलाई रोकेर डिजिल थर्मोमिटरले तापक्रम चेकजाँच गर्ने गरेका थिए तर अहिले वीरगन्ज नाकामा नेपाली सेनाले क्याम्प नै राखेर कडाईका साथ चेकजाँच गरिरहेका छन् ।

बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर वीरगन्जको नारायणी अस्पतालमा ५ शय्या, नेशनल मेकिडल कलेजमा ५० शय्या र बयोधा हस्पिटलमा ४ शैयाको आइसोलेशन वार्ड तयारी गरेर राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

उनले भने, ‘विदेशी नागरिक तथा भारतबाट फर्केका स्वदेशी नागरिकलाई समेत क्वारेन्टाईनमा राखेर आ–आफनो गन्तव्यतर्फ पठाउँने व्यवस्था मिलाएका छाँै । भंसार नजिकै रहेको नेपाल आयुर्वेद मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा नेपाली सेना, वीरगन्ज महानगरपालिका र स्थानिय प्रशासनको सहयोगमा ५० शैयाको क्वारेन्टाईन स्थापनाको तयारी गरीरहेको छौँ ।’ उनले भने, ‘विदेशबाट आउँने सम्पूर्ण नागरिकहरुको पूर्ण विवरण लिएर क्वारेन्टाईनमा राखेर चेकजाँचपश्चात मात्र यहाँबाट पठाउने व्यवस्था मिलाएका छाँै ।’

नाकामा रहेको हेल्थ डेस्कमा थप स्वास्थ्यकर्मी खटाइने उनले बताए । भारतमा अहिलेसम्म ३ सय ४१ जना कोरोनाका कारण संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भईसकेको छ । आइतबार मात्र बिहारको पटनामा एकजना ३८ वर्षीय कोरोना संक्रमित पीडितको ज्यान गएपछि स्थानिय प्रशासनले सर्तकता अपनाउँदै जिल्लाको नाकामा थप सुरक्षाकर्मी खटाई चेकजाँचमा कडाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्