नयाँ सरकार बनाउने अब्बासको प्रस्तावमा प्रधानमन्त्री हमदल्लाकाे साथ



रामाल्ला: प्यालेष्टिनी राष्ट्रपति महमुद अब्बासको नयाँ सरकार बनाउने पहलमा सघाउन प्रधानमन्त्री रमी हमदल्लाले सोमबार राजिनामा प्रस्ताव गरेका छन्। 'हमदल्लाले फताह, प्यालेष्टिनी राजनीतिक एवम् सैन्य समूहको केन्द्रीय समितिको नयाँ सरकार बनाउने सुझाबलाई स्वीकार गर्दै सरकार विघटनका लागि राष्ट्रपति महमुद अब्बासलाई अनुरोध गरेका छन्,' सरकारका प्रवक्ता युसेफ अल–महमुदद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

अब्बासको फताह पार्टीले आइतबार साँझ नयाँ राष्ट्रिय संयुक्त सरकारको गठन गर्ने र यसमा प्यालेष्टिनी लिबरेसन अर्गनाइजेसन (पीएलओ)लाई समेत समावेस गर्ने प्रस्ताव प्रधानमन्त्रीलाई पठाएको थियो। फताहले नयाँ सरकारको प्रस्ताव गर्ने निर्णय इस्लामिक हमास आन्दोलनमा आवद्ध समूहसँगको पुनर्मिलन वार्तापछि आएको हो। गाजा क्षेत्रमा विगत १२ बर्षदेखि शासन गर्दै आएको इस्लामिक हमास आन्दोलन, जुन पिएलओभन्दा फरक शक्ति हो, सँगको वार्ता असफल भएपछि फताहले नयाँ संयुक्त गठबन्धन सरकार निर्माण गर्ने जनाएको हो।

गत डिसेम्बरमा प्यालेष्टिनी संवैधानिक अदालतले प्यालेष्टिनी विधायन परिषद्लाई विघटन गरेको र आगामी ६ महिनामा संसदीय निर्वाचन गर्ने तयारी फताहले गरेको छ। नयाँ सरकारको प्रधानमन्त्रीको घोषणा पिएलओसँगको सल्लाहपछि गरिने फताहका उप–प्रमुख महमुद अलोउलले प्यालेष्टिनी टेलिभिजनसँग बताए। फताहको केन्द्रीय समितिले पिएलओका सदस्यसँग नयाँ समीकरणका लागि छलफल चलाएको तर नयाँ सरकार गठन र आगामी निर्वाचनबीच कुनै सम्बन्ध नरहेको फताहले जनाएको छ।

यसैबीच, हमासले भने फताहको नयाँ सरकार बनाउने प्रयासको आलोचना गरेको छ। उसले नयाँ सरकार राष्ट्रिय सहमतिको सरकार हुन नसक्ने बताएको छ। सिन्ह्वा न्यूज एजेन्सीसँगको कुराकानीमा हमासका प्रवक्ता फावजी बारहउमले फताहलाई आन्तरिक विभाजन गर्न खोजेको बताएका छन्। निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्दा सबै दल र समूहको प्रतिनिधित्व गराइनुपर्नेमा हमासको जोड रहेको उनको दाबी छ। हमदल्लाको नेतृत्वमा रहेको वर्तमान सरकार सन् २०१४ मा पिएलओका केही समूहहरू र हमासबीच राष्ट्रिय मेलमिलाप सम्झौतापछि बनेको थियो। 

प्रतिक्रिया दिनुहोस्