कोरोनाको त्रास : सुनसान जनकपुर, ३५ सीमा नाका बन्द



जनकपुरधाम : विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासका कारण जनकपुर सुनसान भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिने उत्तम विकल्प घरबाहिर ननिस्कनु रहेको बुझेपछि बजार क्षेत्रमा चहलपहल पातलिएको हो ।

बिहानैदेखि भरिभराउ रहने जानकी मन्दिरमा दर्शनार्थीको संख्यामा कमी आएको छ । सामान्य अवस्थामा बिहानैदेखि भीडभाड रहने जानकी मन्दिरमा आइतबार न्यून संख्यामा मात्र पूजाअर्चना गर्न मानिसहरु पुगेको त्यहाँका पुजारीले बताए ।

बाहिरबाट आउने पर्यटकसमेत घटेका छन् । पछिल्लो केही दिनयता जनकपुरमा पर्यटक आउन छोडेको व्यवसायीहरु बताउँछन् ।

जनकपुरधामको बजार क्षेत्रमा न्यून संख्यामा मात्र सवारीसाधन गुडेका छन् । पैदल हिँडडुल गर्नेहरु पनि कमै देखिएका छन् ।

कोरोना संक्रमणको सम्भावित खतरालाई मध्यनजर गरी जनकपुरधामका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

३५ नाका बन्द
भारतको बिहार राज्यसँग जोडिएका धनुषाको ३५ वटा नाका बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कुल ३७ नाका मध्ये ३५ वटा नाका आइतबारदेखि बन्द गर्ने निर्णय गरेको हो ।

भारतको बिहार राज्यबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्लाको मुख्य जटही र खजुरी नाकाबाहेक सबै नाका सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।

जटही र खजुरी नाकाबाट आवतजावत तथा सरसामान आयात निर्यात भए पनि अन्य सम्पूर्ण नाकाहरु पूर्ण रुपमा बन्द गरिएको उनले बताए । जटही र खजुरी नाकाबाहेक अन्य नाकाहरुबाट मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द भएको निरौलाले जानकारी दिएका छन् ।

छिमेकी मुलुकमा कोरोना संक्रमण देखि सकिएको र धनुषा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको संख्या उल्लेख्य रहेकोले पूर्व सावधानीस्वरुप यस्तो निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । खुल्ला गरिएका दुई नाकामा समेत चेकजाँचमा कडाइ गरिएको उनको भनाइ छ ।

यसैगरी सरकारी कार्यालयहरुले आइतबारदेखि सेवा दिने काम बन्द गरेको उनले बताएका छन्। कार्यालयहरु सञ्चालन भए पनि सेवाहरु बन्द रहने उनले बताए । कार्यालयहरुमा सेवाग्रहीको भीडभाड कम गर्न यसो गरिएको निरौलाले बताए ।

यसका साथै जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरको मुजेलियास्थ्ति मणिपाल मेडिकल कलेजको प्रयोगविहीन भवनमा ६० देखि ७० बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार ७० देखि ८० घण्टाको अवधिमा क्वारेन्टाइन भवन बनाउन तयारी थालिएको छ । मणिपाल कलेजमा क्वारेन्टाइन बनाउनेबारे जानकारी लिन जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह नेतृत्वको टोलीले अनुगमनसमेत गरेको छ ।

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै महोत्तरीका जिल्लाका भारतीय सीमा नाका पनि बन्द गरिएका छन् । जिल्लाको भिठ्ठामोरबाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न ११ मुख्य र अरु बस्ती/बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको थियो । करिब ३८ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्लामा बाक्लो ओहोरदोहोर हुँदै आएका खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, इँटहर्वाकट्टी, कटैया, बथनाहा, मधवा, नैन्ही, पर्सापतैली र मटिहानीसहितका नाकाबाट आवतजावत पूर्ण बन्द गरिएको छ । यसैगरी रघुनाथपुर, सग्रामपुर, कट्टी, सिस्वाकटैया, मुसरपट्टी, मलिवारा र सकरीलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द गरिएका छन् ।

सरकारी कार्यालयहरु पनि बन्द
कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन प्रदेश २ का आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयका सेवाहरु समेत बन्द गरिएको छ ।

नेपाल सरकारको निर्देशनानुसार प्रदेश २ का धनुषा,महोत्तरी,सिरहा,सर्लाही,रौतहट,बारा,पर्सा र सप्तरी जिल्लाका जिल्ला प्रशासन कार्यालयको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु चैत २१ गतेसम्मका लागि बन्द गरिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सुचना टाँस गरि जानकारी दिएका छन् ।

नेपाल सरकारको निर्णय अनुसार प्रदेशभरिका जिल्ला प्रशासन कार्यालय तथा यातायात व्यवस्था कार्यालय धनुषामा दैनिक रुपमा सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका सम्पूर्ण कामहरु चैत २१ गतेसम्मका लागि बन्द गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

प्रदेशभरिका जिल्ला प्रशासन कार्यालयहरुले शान्ति सुरक्षा,ठाडो उजुरी,मुद्दा सम्बन्धी अभियोगपत्र दर्ता,बयान र थुनछेक,पक्राउ पुर्जी अनुमति र जरुरी पुर्जीको समर्थन लगायतका अतिआवश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नगरिएसम्मका लागि बन्द भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्