गौर–बर्गिनिया सीमा नाका ‘सिल’



काठमाडौं : सरकारले आजदेखि छिमेकी मुलुक भारत र चीनसँगको सीमानाका बन्द गर्ने निर्णय गरेसँग विभिन्न जिल्लका सीमा नाकाहरु बन्द भएको छ ।

प्रदेश २ को आठ वटै जिल्लामा सीमा नाका बन्द गरिएको छ । प्रदेश २ को आठ जिल्लामध्ये गौर–बर्गिनिया सीमा नाका पनि पूर्णरुपमा ‘सिल’ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविराज खड्कासँग द नेपालटपले गरेको फोन सम्पर्कमा गौर–बर्गिनिया सीमा नाका ‘सिल’ गरिइएको जानकारी दिए । उनले गौरमा छिटफुट रुपमा मानिसहरु हिँडडुल गरेपनि अत्यावश्यक बाहेकका सबै बन्द गरिएको बताए ।

साथै बर्गिनियाबाट समेत मानिसहरुलाई नेपाल प्रवेशमा रोक लगाएको उनले बताए ।

त्यसैगरी गौरबाट छुट्ने लामो दूरीका सवारी साधन नचलेपनि गौर–चपुरसम्मको सवारी साधान सञ्चालनमा रहेको एसपी खड्काले जानकारी दिए ।

उनले गौरबाट छुट्ने वीरगञ्ज, जनकपुरलगायत अन्य जिल्लाका लामो दूरीका सवारी साधन समेत बन्द गरिएको उनले बताए ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९) मुलुकमा फैलनबाट रोक्न र नियन्त्रण गर्न सरकारले आजदेखि चैत १६ गतेसम्म सरकारले चीन र भारतसँग जोडिएको सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो (आइतबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आज (सोमबार) बिहान १० बजेदेखि चैत १६ गतेसम्म लागू हुने गरी एक साताका लागि अन्तर्राष्ट्रिय सीमाका सबै प्रवेश नाकाहरुबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्