पानीपुरी बेचेर दिनमै पाँच हजार आम्दानी



आफ्नाे पसलमा पानीपुरी तयार पार्दै कृष्णा महताे ।

 

जनकपुर : धनुषाबाट युवाहरु वैदेशिक रोजगारीमा जान थालेको लामो समय भइसकेको छ । अझै पनि यसले निरन्तरता पाइरहेकै छ । तर आफ्नै गाउँठाउँमा बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने स्थानीय एक युवाले देखाएका छन् । ती युवाले जनकपुरमै पानीपुरी बेचेर दिनमै पाँच हजारसम्म कमाउँदै आएका छन् । उदाहरणीय ती युवा हुन् जनकपुर १ स्थायी घर भएका २५ वर्षीय कृष्णा महतो ।

 

कृष्णा स्थानीय जनकचोकमा काठको ठेलामा पानीपुरी सजाएर अपराह्न ३ बजेदेखि बेच्न थाल्छन् अनि राति ८–९ बजेतिर घर फर्किन्छन् । गर्मीको समयमा भने उनी राति १० बजेसम्म पानीपुरी बेच्दै हुन्छन् । छ कक्षासम्म मात्रै अध्ययन गरेका कृष्णाले आफ्नो मेहनत ७ जनाको परिवार राम्रैसित चलाएका छन् । ‘व्यापार नभएको दिन पनि कमाइ ३ हजार घट्दैन । म मेरो कामले सन्तुष्ट छु’, उनी भन्छन् ।

 

कृष्णाका बाबु चलित्तर महतोले पनि विगत २५ वर्षदेखि पानीपुरीकै व्यापार गर्दै आएका छन् । ‘अहिले बुवाको खुट्टामा समस्या भएकाले पहिलेजति काम गर्न सक्नुहुन्न,’ कृष्णाले भने, ‘पहिले  बुवाले बढ़ी बेच्नुहुन्थ्यो, अहिले म बढ़ी बिक्री गर्छु ।’ कृष्णाका ग्राहक पाँच किलोमिटरसम्मको यात्रा तय गरी पानीपुरी खान आउने गर्छन् ।

 

पानीपुरी बनाउन कृष्णाको परिवारका सदस्य बिहान ४ बजे नै उठेर गहुँको पिठो मुछ्ने, पिस काट्ने र पुरी बनाउने प्रक्रियामा खटिन्छन् । बुवा र आफ्नो पसलका लागि ३ हजारभन्दा बढ़ी पिस पुरी बनाउनुपर्ने भएकाले यसका लागि परिवारका सदस्यले दिनमा ६–७ घन्टा काम गर्ने उनले बताए । पानीपुरीमा प्रयोग हुने मसला पनि कृष्णको घरमै बनाइन्छ ।

 

पसलबाट ल्याएको मसला त्यति राम्रो नहुने भएकाले सामान किनेर ल्याई घरमै बनाउने गरेको उनले बताए । उनले विवाह, व्रतबन्ध र अन्य पार्टीमा पनि अर्डर लिने गरेका छन् । उनी कमाउनलाई भनेर विदेश नजानेमा प्रस्ट छन् । ‘विदेशमा भन्दा बढ़ी म यहीं कमाउँछु, अनि किन जाने विदेश’, उनले भने, ‘मलाई काम गर्न लाज लाग्दैन ।’ कृष्णाको मेहनत अनि आम्दानी बेरोजगारका लागि शिक्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्