अर्घाखाँची आज रातीदेखि ‘लक डाउन’ हुने



बुटवल : अर्घाखाँची जिल्लालाई आज राती १२ बजेदेखि अनिश्चितकालसम्मका लागि लक डाउनको घोषणा गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आज (सोमबार) जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई लक डाउन गर्ने निर्णय गरेको हो ।

विदेश तथा अन्य जिल्लाबाट गाउँ फर्किनेहरुको भीड बढ्दै गएको र उनीहरुमा कोरोना संक्रमण भएको भए फैलिनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सर्वपक्षीय छलफलबाट लकडाउनको निर्णय लिएको हो ।

कोरोना संक्रमण फैलिन नदिन अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकल सोमबार राति १२ बजे पछि चल्न पाउने छैनन् । मालबाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण पछि मात्रै गन्तव्यतर्फ जान दिने निर्णय भएको छ ।

जिल्लामा औषधि पसल र पेट्रोल पम्प चौबीसै घन्टा खुला रहने छन् । खाद्यान्न, ग्यास, तेल, फलफूलका पसल प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने छन् । दूध डेरी, फलफुल तथा तरकारी पसल बिहान ६ देखि बिहान ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म मात्रै खुला हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्