विराटनगरमा भोलिदेखि अनिश्चितकालीन ‘लक डाउन’



मोरङ : विराटनगर महानगरपालिकामा भोलि (मंगलबार)देखि अनिश्चितकालीन लक डाउन हुने भएको छ ।

कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गदै गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा अनिश्चितकालीन लक डाउन गर्न लागेको बताए । उनले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द हुने जानकारी दिए ।

उनले सरोकारवालसबैको आव्हानमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनको निर्णय गरेको बताए ।

साथै उनले यसका लागि हामीले सबै व्यावसायिक संघसंस्थासित बसेर छलफल गर्यौं र उनीहरुको सबैको सहमतिमा लक डाउनको निर्णय गरेको जानकारी दिए ।

लक डाउनका लागि खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघ लगायतका २ दर्जन संघसंस्थाका प्रतिनिधिसँग बैठक गरेर यस्तो निर्णय लिइएको उनले जानकारी दिए ।

लक डाउन गरिने भएपनि खाद्यान्न, औषधि, पानी, दूध, तरकारी र एम्बुलेन्स सेवा भने सञ्चालनमा रहने छ ।

यसैगरी अत्यावश्यक परेका यात्रुलाई मात्र सिटी रिक्सा र रिक्सा प्रयोग गर्न तथा चालकले मास्क अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्