भोलिदेखि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने सरकारको तयारी



काठमाडौं : सरकारले भोलि (मंगलबार)देखि अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसबारे निर्णय गर्ने तयारी रहेको स्रोतले बतायो ।

स्रोतका अनुसार स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई भने नियमित काममा बोलाउने तयारी समितिले गरेको छ ।

समिति अन्तर्गत गठन गरिएका ६ वटा कार्यदल संयोजकको बैठकले यस्तो निर्णय गर्न सिफारिस गरेको हो ।

साथै अत्यावश्यक सेवाबाहेकका निजामति कर्मचारीलाई घरमै ‘स्ट्यान्डबाइ’ बस्न निर्देशन दिने सल्लाह भएको स्रोतले जनाएको छ ।

यसैगरी सीमा बन्द भएका बेला नाकामा आउने नेपाली नागरिकको पहिचान गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलले सबै स्थानीय सरकारहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्