सरकारले अन्तर्राष्ट्रिय हवाई प्रवेशमा प्रतिबन्ध लगाएपनि किन आइरहेको छ नेपाल ?



काठमाडौं : अन्तर्राष्ट्रिय हवाई उडानलाई सरकारले प्रतिबन्ध लगाएपनि अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा भने आज (सोमबार) चार वटा विमान अवतरण भएको छ । गएराति १२ बजेबाट सरकारले देशका भित्रने अन्तर्राष्ट्रिय हवाई सेवा नेपाल प्रवेशमा रोक लगाएको थियो । तर, आजै चार वटा विमान विमानस्थलमा अवतरण भएको छ ।

नियम लागू भइसकेपछि ईतिहाद एयर, कोरियन एयर र कतार एयरका दुईवटा जहाज काठमाडौं अवतरण गरे । यसका कारण धेरै नागरिकले किन विदेशबाट अझै विमान आईरहेका छन् ? भनेर सामाजिक सञ्जालमा प्रश्न उठएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशबाट अझै विमान आइरहेकोबारे स्पष्ट गरेको छ । प्राधिकरणका अनुसार विमानस्थलमा विभिन्न देशबाट आएर अवतरण गरेका विदेशी एयरलाइन्सका जहाज यात्रु लिएर नेपाल आएका होइनन् ।

यी विमानले सरकारसँग विशेष अनुमति लिएर नेपालबाट यात्रु लगिरहेको त्रिभुवन विमानस्थलको नेपाल नागरिक कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।

उनले अहिले आकस्मिक रुपमा आउने, कार्गो लिएर आउने र मान्छे नबोकी रित्तो आउने विमान मात्रै विमानस्थलमा बस्न पाउने बताए । साथै ३१ मार्चको मध्य राति १२ बजेसम्म यात्रु लिएर आएका विमान यहाँ ओर्लिन नपाउने उनको भनाई छ ।

अब आकस्मिक कारण यात्रु लिएर कुनै अन्रतष्ट्रिय हवाइ सेवाका विमान नेपाल आउन सरकारसँग विशेष अनुमति लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्