कोरोना संक्रमणबाट जोगिन चैत्र १८ गतेसम्म घर बाहिर ननिस्कन वीरगन्ज महानगरको अपिल



वीरगन्ज : प्रदेश २ को एक मात्र वीरगन्ज महानगरपालिकाकाले चैत्र १८ गते सम्म घर बाहिर ननिस्कन अनुरोध गरेको छ । महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगरवासीलाई आफनै घरमा चैत्र १८ गते सम्म बस्न अपिल जारी गरेका हुन् ।

मेयर सरावगीले विश्वभर फैलिएका कोरोना भाईरस (कोभिड १९) संक्रमणको उपचार हालसम्म नभएकोले सर्तक बसेमात्र यसलाई नियन्त्रण गर्न सकिने भएकोले आ आफनो घर बाहिर नजान महानगरवासीलाई अपिल गरेका हुन् ।

उनले महानगरको अपिललाई गम्भिरतापूर्वक लिन आग्रह गर्दै समस्या आउनुभन्दा पहिलाको तयारीको क्रममा महानगरको अपिललाई स्वीकार गरेर सहयोग गर्न समेत आग्रह गरे ।

‘हामी पनि वीरगन्जलाई लकडाउँनको निर्णय सम्म पु¥याईसकेका छौ,’ उनले भने, ‘कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलँदै गरेको अवस्थामा नेपाल सुरक्षित घेरा भन्दा बाहिर देखिएकोले तराईका जिल्लाहरुमा पनि उच्च सतर्कता अपनाउदै गरेको बेला वीरगन्जलाई पनि मध्य लकडाउन गर्न सक्ने उच्च सम्भावना रहेको छ ।’

महानगरपालिकाले अत्यावश्यक सेवाहरु बाहेक सम्पूर्ण पसल र प्रतिष्ठान बन्द गर्न अपिल समेत गरेका छन । महानगरमा मानिसहरुको चहलपहल बढी देखिएको छ, सरकार तथा महानगरको अपिललाई नागरिकले गम्भिरता पूर्वक लिन जरुरी छ ।

दुध, औषधी पसल तरकारी, किराना एम्बुलेन्स तथा अस्पतालहरु मात्र खुला राख्न र ति पसलहरुमा पनि हुलका हुल भिड लाग्न नदिन अपिल समेत उनले गरे । महानगरले अत्यावश्यक पर्दा बजार निस्कन र तीन जना भन्दा बढी जम्मा नहुन महानगरवासीमा आग्रह गरे ।

महानगरबासिलाइ घर मै बस्न पट्क पटक महानगरले अनुरोध गर्दै आए पनि बजार चहल पहल कायमै देखिन्छ । चहल पहल कम गर्न बजार बन्द गर्नु जरुरी रहेकोले पहिलो चरणमा बजार बन्द गराईने उनले बताए ।

महानगरपालिका लगायत सम्पूर्ण वडाको अत्यावश्यक सेबा बाहेक बन्द
कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि स्थानीय सरकारले पनि आफनो स्तरमा पहलकदमी लिन थालेको छ । वीरगन्ज महानगरपालिकाले अत्यावश्यक सेबा बाहेक सबै ब्यवसाय बन्द गर्न र नागरिकलाई घर बाहिर नजान अपिल गरिसकेको छ ।

महानगरले २१ गते सम्मका लागि वडा कार्यालयहरुबाट दिँदै आएको सेवाहरु पनि स्थगित गरेको छ । सरसफाई स्वास्थ्य र दमकल बाहेकका सेवा बन्द गरेको छ । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण कुमार महतोले आज एक सूचना जारी गरि कार्यालयले प्रवाह गर्ने सेवा बन्द गरिएको जनाए ।

त्यसैगरि महानगर भित्रका माध्यामिक बिद्यालयहरुलाई कुनै पनि बेला क्वारेन्टाइनको रुपमा उपयोग गर्नु पर्ने अवस्था आउन सक्ने भएकोले सबै बिद्यालयहरुलाई तयारी अवस्थामा राख्न महानगरले निर्देश समेत गरेको छ ।

विद्यालयका प्रधानाध्यापकहरु र ब्यवस्थापन समितिका अध्यक्ष पदाधिकारी सदस्यहरुलाई यसमा चासो लिन आग्रह गर्दै महानगरको सम्पर्कमा बस्न निर्देशन गरिएको हो । वीरगन्ज महानगरले स्थानीय प्रशासन समतेको सहयोगमा आफनो तर्फबाट गरिनु पर्ने पूर्व तयारीका बिषयमा तदारुकता साथ काम गरेको छ ।

महानगरले गरेको कामको परिणाम देखिनकालागि महानगरवासीको सहयोगको आवश्यकता रहेको भन्दै महानगरले सरकार र महानगरका अपिललाई पालना गर्ने महानगरवासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्