गिट्टी बाेकेर जब जनकपुरमा रेल अायाे



धनुषा : भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल जनकपुर आइपुगेको छ । बुधबार दिउँसो ब्लास्ट बोकेको ५३ र्‍याकसहित रेल जनकपुर आइपुगेको हो ।

तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालबाहक रेलमा ल्याइएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इन्जिनियर विनोद कुमार ओझाले बताए । प्रतिघण्टा १० किलोमिटरको गतीमा आएको मालवाहक रेलको र्‍याकमा लोड गरीएको ब्लास्ट मजदुरहरुले लिकमा झार्दै आएका थिए ।

भारत सरकारको सहयोगमा निर्माण भएको कर्था-जनकपुर-जयनगर रेल्वे अन्तर्गत जयनगरबाट जनकपुरसम्म मालबाहक रेल आएको हो । यसअघि लिक परीक्षणका लागि टोम्पिङ चलाइएको थियो । निर्माणधीन अवस्थामा रहेको लिकबाट पहिलो पटक ५३ र्‍याक सहितको रेल्वे जनकपुर आएको हो ।

कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हर्ल्ट र ५ स्टेशन निर्माणको अन्तिम चरणमा छ । स्टेशन भवन, आवास निर्माण अन्तिम अवस्थामा छ । यात्रुवाहक रेल गुडाउन जयनगर (भारत)-बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर-जनकपुर रेल लिकलाई बुधबार दिउँसो मालबाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी सुरु गरिएको प्राविधिकहरु बताउँछन् ।

भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेसनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो । यसअघि जयनगर-जनकपुर-बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलोमिटर प्रतिघण्टाको गति थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरको दूरी आधा घण्टामा पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्